जनकपुर, पुस ३०

मधेस प्रदेशको सभामुखमा दुई जना प्रदेश सांसदले उम्मेदवारी दर्ता गराएका छन् ।

उम्मेदवारी दर्ता गराउनका लागि शनिबार दिउसो ३ बजेसम्म गराउने समय रहेको थियो । सो अवधिमा सभामुखका लागि नेकपा एमालेका तर्फबाट प्रदेशसभा सदस्य रामचन्द्र मण्डल र नेपाली कांग्रेसबाट जंगिलाल रायले उम्मेदवारी दर्ता गराएका हुन् ।

सत्ता गठबन्धनबाट उम्मेदवारी दिएका मण्डल धनुषा १(ख) बाट प्रदेशसभा सदस्यमा निर्वाचित भएका छन् भने कांग्रेसका राय सर्लाही २ (क) बाट निर्वाचित भएका हुन् ।

मण्डलको प्रस्तावकमा नेकपा माओवादी केन्द्रका संसदीय दलका नेता भरतप्रसाद साह, समर्थकमा जनमत पार्टीको संसदीय दल नेता महेशप्रसाद यादव, लोसपा नेपालकी रानी कुमारी तिवारी, जसपा नेपालका रामअशिष यादव र नेकपा एमालेबाट विना विभागीय मन्त्री समेत रहेका संसदीय दलका नेता सरोजकुमार यादवले हस्ताक्षर गरेका छन् ।No description available.

त्यस्तै कांग्रेसका उम्मेदवार रायको प्रस्तावकमा कुमरकान्त झा र समर्थकमा जिवछी देवी यादव छन् ।

सभामुखका उम्मेदवारी दर्ता गराएपछि मण्डलले आफुलाई विभिन्न दलसहित ७२ जना प्रदेश सांसदको समर्थन रहेको जनाए ।

यता नेपाली काँग्रेसका संसदीय दलका नेता कृष्ण यादवले लोकतन्त्रमा सबैको अधिकार रहेकोले यसको सदुपयोग गर्नु आवश्यक रहेको प्रतिक्रिया दिए ।No description available.

मधेस प्रदेशको सभामुख पदका लागि माघ २ गते निर्वाचन हुने प्रदेशसभा सचिवालयले जनाएको छ । भने माघ ३ गते उपसभामुखको उम्मेदवारी दर्ता हुने छ ।

मण्डलसँग एमालेका २४, जसपा नेपालका १६, जनमतका १३, लोसपा नेपालका ९, माओवादी केन्द्रका ७, राप्रपाका २, राष्ट्रिय उन्मुक्ति पार्टीका १, नेपाल संघीय समाजवादी पार्टीका १/१ र ४ सांसद छन् ।

दुई जना स्वतन्त्र प्रदेश सांसदसहित ७२ जना मण्डलको समर्थनमा रहेका छन् । त्यस्तै काँग्रेसका २२ जना सांसद छन् भने नेकपा एकीकृत समाजवादीका ७ जना छन् । एकीकृत समाजवादी भने खुलेका छैनन् ।