जनकपुर, माघ १

जनमत पार्टीले नातागोता तथा आफन्तलाई सांसदले सचिवालयमा राख्न नपाउने निर्णय गरेको छ ।

आफ्ना सांसदलाई प्रतिनिधिसभामा कुनै भनाइ राख्नु अघि पार्टीको सचिवालयमा जानकारी गराउनुपर्ने नीति अख्तियार गरेको हो । कुनैपनि कागजातमा हस्ताक्षर गर्नु अघि पार्टीको केन्द्रीय सचिवालयलाई जानकारी गराएर हस्ताक्षर गर्न पनि जनमतले आफ्ना सांसदलाई सर्कुलर नै जारी गरेको छ ।

प्रतिनिधिसभा, प्रदेशसभा तथा पार्टीका सदस्यहरूका लागि जनमतले तयार पारेको आचारसंहितामा सो कुरा उल्लेख गरेको छ । जनमतका उपाध्यक्ष समेत रहेका अनुशासन विभागका प्रमुख दीपक कुमार साहले सो आचारसंहिताको मस्यौदा तयार गरी पार्टीलाई बुझाएको जनाएका छन् । आचारसंहितामा सांसदले आफन्तलाई निजी सचिवमा राख्न नपाउने समेत उल्लेख गरिएको छ ।

आचारसंहिताको बारेमा कार्यकारिणी समितिमा छलफलपछि मात्र कार्यान्वयनमा आउने उनले स्पष्ट पारे । कुनैपनि कार्यक्रममा प्रमुख अतिथि भनेर बोलाएमात्र सो कार्यक्रममा जाने र कार्यक्रममा जानुभन्दा पहिले पार्टीको सचिवालयलाई जानकारी गराएर मात्र जान पाउने जनमतले बनाएको आचारसंहिता उल्लेख छ ।

संसद सदस्यको रूपमा आफ्नो पदको उपयोग गर्दै पार्टीको पार्टी विधान, नियमावली, आचारसंहिता, घोषणापत्र आदि राम्ररी अध्ययन गरेर परिचित हुन पनि निर्देशन दिइएको उनले बताए ।

सम्बन्धित सदस्यलाई सचेत गराउने, आलोचना तथा आत्मालोचना गर्न लगाई सोको जानकारी सार्वजनिक गर्न लगाउने, प्रमाणसहित भ्रष्टाचार गरेको प्रमाणित भएमा पदबाट बर्खास्त गरिने आचारसंहितामा उल्लेख गरिएको उनले बताए । पार्टीको अनुशासन बाहिर गएर स्वेच्छाचारिता देखाएमा सो प्रतिनिधिसभा÷प्रदेशसभा सदस्यलाई पार्टीले फिर्ता गर्न सक्ने गरि आचारसंहिता बनाइएको छ ।