जनकपुर, माघ ३
मधेस प्रदेशमा सत्तारूढ गठबन्धनबाट नेकपा एमालेका नेता रामचन्द्र मण्डल प्रदेशसभाको सभामुखमा निर्वाचित भएका छन् ।
मंगलबार प्रदेशसभामा सभामुखको लागि भएको निर्वाचनमा उनी निर्वाचित भएका हुन् भने जनमत पार्टीकी नेतृ बबिता कुमारी राउत इसर उपसभामुखमा निर्वाचित भएकी छन् ।
नवनिर्वाचित सभामुख मण्डल धनुषा–१ को (ख) बाट प्रदेशसभा सदस्यमा छन् ।
कुल १०७ जना प्रदेशसभा सदस्य रहेको मधेस प्रदेशसभामा सभामुख पदका लागि भएको मतदानमा १०३ मत खसेको थियो । जसमध्ये मण्डलले ७४ मत प्राप्त गरे भने उनको विपक्षमा जंगीलाल रायलाई २९ मत परेको थियो ।
त्यस्तै राउतलाई उपसभामुखलाई ७२ मत परेको थियो । उनको विपक्षमा रहेकी नेपाली काँग्रेस–नेकपा एकीकृत समाजवादीकी नेतृ बेचु लुंगेलीलाई २९ मत परेको थियो । उपसभामुखको निर्वाचनमा १०१ जना सांसद उपस्थित थिए ।
नेकपा एमालेका २३, नेपाली कांग्रेसका २२, जनता समाजवादी पार्टी नेपालका १६, जनमत पार्टीका १३, लोकतान्त्रिक समाजवादी पार्टी र माओवादी केन्द्रका ९/९, नेकपा एकीकृत समाजवादीका ७ प्रदेशसभा सदस्य छन् ।
त्यस्तै, नेपाल संघीय समाजवादी पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी र नागरिक उन्मुक्ति पार्टीका पनि एक÷एक जना प्रदेशसभा सदस्य छन् । माओवादीका दुई जना प्रदेशसभा सदस्य निलम्बनमा छन् ।
