जनकपुर, माघ ४

मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले आज विश्वासको मत लिदैछन् ।

बुधबार बिहान ११ बजे बोलाइएको प्रदेशसभा बैठकबाट मुख्यमन्त्री यादवले विश्वासको मत लिने कार्यक्रम रहेको प्रदेशसभा सचिवालयले जनाएको छ ।

पुस २७ मा ६३ सांसदको समर्थनमा मुख्यमन्त्री पदमा नियुक्त भएका जसपा नेपालका संसदीय दलका नेता यादवले पुस २९ मा पद तथा गोपनियताको शपथ लिएका थिए । त्यसपछि लोसपा नेपालले मुख्यमन्त्री यादवलाई समर्थन गरेपछि उनले ७२ सांसदको समर्थन पाउने छ ।

जसपा नेपालको १६, नेकपा एमालेका २३, जनमत पार्टीका १३, लोसपा नेपालको ९, नेकपा माओवादी केन्द्रका ७, राष्ट्रिय प्रजातन्त्र पार्टी र नेपाल संघीय समाजवादी पार्टीका १÷१ तथा २ स्वतन्त्र प्रदेशसभा सदस्यहरुसहित ७२ प्रदेश सांसदको समर्थन छ । प्रदेशसभामा हाल १०५ प्रदेशसभा सदस्य रहेको छ ।
कांग्रेस २२, नेकपा एकीकृत समाजवादी ७, नागरिक उन्मुक्ति पार्टी १ र ३ जना स्वतन्त्र प्रदेशसभा सदस्य प्रतिपक्षमा छन् ।

मुख्यमन्त्री यादवलाई प्रमुख प्रतिपक्षी दल कांग्रेसले पनि विश्वासको मत दिने सम्भावना रहेको छ । यसका लागि मुख्यमन्त्री यादवले काँग्रेस संसदीय दलका नेता कृष्णप्रसाद यादवलाई विश्वासको मत माग्दै पत्र मार्फत आग्रह गरेको छ । यादवको सरकारलाई काँग्रेसले समर्थन गर्ने विषयमा संसदीय दलको बैठक डाकेको जनाइएको छ ।