काठमाण्डौ, माघ ७
उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले लक्ष्मी महतो कोइरीलाई छिट्टै नै पक्राउ पर्ने आउने दाबी गरेका छन् ।
मधेस आन्दोलनका क्रममा प्रहरी सई थमन विकको हत्या अभियोगमा फरार रहेका कोइरी महोत्तरी– १ बाट निर्वाचित भएका छन् । उनलाई पक्राउ गर्नुपर्ने आवाज प्रतिनिधिसभामै उठेपछि उपप्रधान तथा गृहमन्त्री लामिछानेले पक्राउ गरी कानुनी कारबाही अघि बढाउन निर्देशन दिएका थिए । तर अभियूक्त सांसद कोइरी भने अहिलेसम्मपनि पक्राउ परेका छैनन्, बरु संसद बैठकको अधिकांश बैठकमा उपस्थित हुने गरेका छन् ।
यसबारे उपप्रधान तथा गृहमन्त्री लामिछानेमाथि प्रश्न उठेपछि गृह मन्त्रालयले शुक्रबार विज्ञप्ति जारी गर्दै लिखितरुपमै निर्देशन कार्यान्वयन नभएको भन्दै कोइरीलाई पक्राउ गरी कानुनी कारबाही गर्न निर्देशन दिएको थियो ।
शनिबार संसद बैठकमा पनि कांग्रेस सांसद रामहरि खतिवडाले उपप्रधान तथा गृहमन्त्री लामिछानेको मौखिक निर्देशन प्रहरीले नमानेकाले गृह मन्त्रालयले विज्ञप्ति निकाल्नु परेको हो भन्दै प्रश्न गरे ।
प्रतिनिधिसभा बैठकपछि सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै उपप्रधानमन्त्री तथा गृहमन्त्री लामिछानेले यसको रिजल्ट छिट्टै नै आउने बताए ।
