जनकपुर, माघ ७
स्वतन्त्र सांसद प्रभु शाहले धेरै उपप्रधानमन्त्रीको झुण्ड राख्न जरुरी रहेको भन्दै प्रश्न गरेका छन् ।
पूर्वमन्त्री शाहले धेरै उपप्रधानमन्त्री किन र केका लागि चाहिएको भन्दै प्रश्न गरेका हुन् ।
प्रतिनिधिसभाको बैठकबाट उपसभामुखमा राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद इन्दिरा रानामगरलाई समर्थन गर्दै पदहरु आवश्यकताका आधारमा सृष्टि गर्नुपर्ने उनको भनाई छ ।
उनले भने, ‘अहिले बनेका उपप्रधानमन्त्रीज्यूहरु, के यति जरुरी थियो ? के आवश्यकताको कोणबाट यति उपप्रधानमन्त्री बनाएको हो ? यो उपप्रधानमन्त्रीको झुण्डले देशमा सुशासन ल्याउँछ ? नेपाली जनतालाई उत्साहित गर्छ ।’
अहिलेको सरकारमा विष्णु पौडेल, नारायणकाजी श्रेष्ठ, रवि लामिछाने र राजेन्द्र लिङ्देन गरी चार जना उपप्रधानमन्त्री रहेका छन् ।
सांसद शाहले उपप्रधानमन्त्री नै चाहिने भए परराष्ट्र मन्त्रालय र रक्षा मन्त्रालयमा उपयुक्त हुने स्पष्ट पारे ।
उनले प्रश्न गर्दै भने, ‘परराष्ट्रमन्त्रीमा विदेशीसँग पोर्टिफोलियो मिल्थ्यो, रक्षा मन्त्रालयमा सेनाको मनोबल उठाउन उपप्रधानमन्त्री चाहिन्थ्यो कि ?’ भागवण्डाको राजनीतिले व्यक्ति खुशी बनाउने राजनीति भएको भन्दै उनले यसलाई ब्रेक थु्र गर्नुपर्ने साहले बताए । उनले भने, ‘मन्त्रालयकै काम गर्ने हो भने उपप्रधनम्न्त्री किन चाहिन्थ्यो ?’
उनले भागवण्डाको राजनीतिले देश लाई समृद्धिको बाटो तर्फ नलैजाने बताए ।
