जनकपुर, ११
नेकपा माओवादी केन्द्रबाट समानुपातिक तर्फका निर्वाचित भएका दुई जना प्रदेशसभा सदस्यलाई सभामुख रामचन्द्र मण्डलले सपथ ग्रहण गराएका छन् ।
बुधबार प्रदेशसभा सचिवालयमा प्रदेशसभा सदस्यद्वय मालाकुमारी कर्ण र रजि हैदरलाई सभामुख मण्डलले सपथग्रहण गराएका हुन् ।
माओवादीले समानुपातिक कोटा तर्फ कर्ण र हैदरलाई चयन गरेपछि पार्टीभित्रैबाट अदालतमा उजुरी दिएपछि उनीहरुलाई फैसला नआउञ्जेलसम्मका लागि प्रदेशसभा सचिवालयले निलम्बन गरेको थियो ।
सर्वोच्च अदालतले उनीहरुमाथि खजान्ती महतो नुनियाले दुवैले समानुपातिकको सूचीको क्रमसंख्यालाई मिचेर माओवादी केन्द्रले सिफारिस गरेको भन्दै बदर गर्न माँग गर्दै निर्वाचन आयोग विरुद्ध उत्प्रेषणसमेत मुद्दा दायर गरेका थिए ।
तर अदालतले तामेली फैसला गरेपछि उनीहरु स्वतः प्रदेशसभा सदस्यमा निर्वाचित भएका छन् । अदालतको फैसला आएपछि उनीहरुलाई निर्वाचन आयोगले निर्वाचित भएको प्रमाणपत्र दिएपछि समानुपातिकबाट निर्वाचित प्रदेशसभा सदस्य कर्ण र हैदरलाई सभामुख मण्डलले पद तथा गोपनीयताको सपथ ग्रहण गराएका छन् ।
उनीहरुको पद बहाली भएसँगै माओवादीको ९ जना प्रदेशसभा सदस्य भएका छन् भने एक जना स्वतन्त्र गरि १० जना प्रदेशसभा सदस्य छन् ।
