सिरहा, माघ १६
सिरहा प्रहरीले ब्राउन सुगरसहित १० जनालाई पक्राउ गरेको छ ।
गोप्य सूचनाको आधारमा विभिन्न स्थानबाट १० जनालाई ब्राउन सुगरसहित नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ ।
शनिबार साँझ साढे ५ बजेको समयमा सिरहाको नवराजपुर गाउँपालिका वडा नम्बर २ मझौरा टोल स्थित ओम प्रकाश यादवले आफ्नो घरबाट अवैध लागूऔषध बेचबिखन गरिरहेको सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय झाँझपट्टी सिरहाबाट खटेको प्रहरी टोलीले घरको खानतलासी गर्दा लागूऔषध ब्राउन सुगर २८ ग्राम, लागूऔषध तौल गर्ने डिजिटल मेसिन १ थान, मोबाईल ८ थान, मोटरसाईकल ४ थान र नगद ४ हजार ८८५ बरामद गरेको निमित्त प्रवक्ता प्रहरी निरीक्षक प्रदिप पौडेलले बताए ।
सो स्थानबाट ९ जनालाई नियन्त्रणमा लिएको सिरहा प्रहरीले जनाएको छ । पक्राउ पर्नेमा सिरहाको नवराजपुर गाउँपालिका २ मझौरा टोल बस्ने २३ वर्षीय ओम प्रकाश यादव, २२ वर्षीय अमित कुमार यादव, २५ वर्षीय देवराम कुमार यादव, लहान नगरपालिका १२ बस्ने ५१ वर्षीय मदन कुमार चौधरी, २३ वर्षीय नरसिंह चौधरी रहेका छन् ।
त्यस्तै लहान ५ बस्ने २७ वर्षीय इरफान हुसेन, लहान १ बस्ने १९ वर्षीय कृष्णा पासमान, सप्तरीको शम्भूनाथ नगरपालिका १२ अर्नाह बस्ने २३ वर्षीय रमेश पासमान र २२ वर्षीय सुरेश कुमार पासमान रहेका छन् ।
यसैगरी शनिबार नै ईलाका प्रहरी कार्यालय गोलबजार सिरहाबाट खटेको प्रहरी टोलीले गोलबजार नगरपालिका ६ गोलचोक स्थितमा सोही नगरपालिकाको वडा नम्बर १२ बेतौना हरीपुर बस्ने २७ वर्षीय सुमित कुमार सिंहलाई १ ग्राम १०० मिली ग्राम ब्राउन सुगर, मोवाईल १ थान र नेपाली नक्कली नोट २ हजार बरामद गरेको प्रहरी निरीक्षक पौडेलले जानकारी दिए ।



