जनकपुर, माघ १६

कालीगण्डकीबाट ल्याइएको ‘देवशिला’ जनकपुरधामबाट अयोध्याका लागि प्रस्थान गरेको छ ।

विश्वकै एकमात्र कालीगण्डकी नदीमा पाइने शालिग्राम शिला बिहीबार मन्दिरमा रुद्राभिषेकसहित विशेष पूजाअर्चना गरी शनिबार राति जनकपुरधामस्थित जानकी मन्दिरमा ल्याइएको थियो ।

कालीगण्डकी नदीबाट ल्याइएको दुई वटा विशाल ‘देवशिला’ लाई जानकी मन्दिरमा आइतबार दिनभर विशेष पूजापाठ तथा महाआरति गरिएको थियो । सो शिलाबाट भारतको अयोध्यामा निर्माणाधीन श्रीरामजन्मभूमि मन्दिरमा भगवान रामको मुख्य मूर्ति बनाइनेछ ।

म्याग्दीको बेनी नगरपालिका–६ ठूलोपहिरोस्थित कालीगण्डकी किनारको शिला क्रेनमार्फत निकाली गाडीमा राखेर गलेश्वर लगिएको थियो ।

बेनी नगरपालिकाका प्रमुख सुरत केसीले जानकी मन्दिरका महन्थ रामतपश्वेर दास वैष्णवलाई हस्तान्तरण गरेपछि बाजागाजा र ¥यालीसहित सो शिला जनकपुरधाम ल्याइएको थियो ।

१८ र १६ मेट्रिक टन तौलका, ७ फिट लम्बाइ, ५ फिट चौडाइ र ३ दशमलव ५ फिट मोटाइका दुईवटा शिलाको पहिचान र क्षमापूजा भएपछि बिहीबार श्रीपञ्चमीको शुभसाइतमा शिला जनकपुरधाम हुँदै सोमबार अयोध्या पठाइएको हो ।

रामको प्रतिमा बनाइने शिलाको दर्शन गर्न जानकी मन्दिर परिसरमा भक्तजन, सरकारी निकायका प्रमुख तथा जनप्रतिनिधि, सर्वसाधारणलगायतको आइतबार दिनभर भीड लागेको थियो ।

राम मन्दिरमा ४ सय वटा कलात्मक पिलर राखिएको छ । हरेक खम्बामा १६ वटा देवीदेउताका मूर्ति कुदिनेछ । मन्दिरमा ६ हजार ४ सय देवी देउताका कलात्मक मूर्तिहरु कुदिनेछ । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले सन् २०२० अगस्त ५ मा मन्दिर निर्माणका लागि भूमि पूजन गरेका थिए । सो भूमि पूजनपछि मन्दिर निर्माणका कार्य प्रारम्भ भएको थियो ।

सन् २०१९ मा भारतको सर्वोच्च अदालतले मन्दिर निर्माणका लागि स्वीकृति प्रदान गरेको थियो । सो जग्गा राममन्दिर निर्माण प्राप्तिका लागि १३५ वर्ष लामो अदालतमा मुद्दा चलेको थियो ।

अयोध्यासँगको जनकपुरधामको धार्मिक र ऐतिहासिक सम्बन्ध रहेकाले कालीगण्डकीको शिला अयोध्या लगेर भगवान श्रीरामको मूर्ति बनाउँदा कालीगण्डकीको महत्व अझै बढ्ने अयोध्याबाट आएका राम मन्दिर निर्माण समितिले जनाएको छ ।