जनकपुर, माघ १६

धनुषाको ईलाका प्रहरी कार्यालय महेन्द्रनगरको हिरासत कक्षबाट फरार भएका थुनुवाहरुमध्ये एक जनालाई प्रहरीले पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय महेन्द्रनगरको हिरासत कक्षबाट भित्ता फोडेर सोमबार बिहान ६ जना थुनुवा फरार भएका थिए ।

हिरासत कक्षबाटै थुनुवाहरु फरार भएपछि जिल्ला प्रहरी कार्यालय धनुषा र मधेस प्रहरी कार्यालयको संयुक्त टोलीले सर्च अपरेश टोली खटाएर खोजतलास तीव्र पारेको छ । सो टोलीले फरार थुनुवा मध्ये रोशन महतोलाई पक्राउ गर्न सफल भएको हो । मिथिला नगरपालिका वडा नम्बर ६का २८ वर्षिय महतोलाई बेलुका ६ बजे पुनः पक्राउ गरेको हो ।

उनी माथी हातहतियार खरखजाना मुद्दा चलिरहेको छ । महतोलाई हतियार सहित प्रहरीले गत शनिबार मात्रै पक्राउ गरेर प्रहरीले सार्वजनिक गरेको थियो ।

यता फरार रहेका बाँकी ५ जना थुनुवालाई खोज तलाश गर्ने कार्यलाई प्रहरीले तीव्र बनाएको छ ।