जनकपुर, माघ १७
मधेस प्रदेशमा मुख्यमन्त्री सरोजकुमार यादवले मन्त्रिपरिषद् विस्तार गर्न सकेका छैनन् ।
उनले सपथग्रहण गरेको ३ साता पुग्न लाग्दा अहिलेसम्म पनि मन्त्रिपरिषद् विस्तार गर्न सकेको छैन । सत्तारुढ गठबन्धन दल वीच मन्त्रालयको विषयमासहमति हुदाँ मधेश प्रदेश सरकार विस्तारमा लफडा देखिएको हो ।
जसपा नेपाल, जनमत पार्टी र नेकपा माओवादी केन्द्रले पनि सामाजिक विकास मन्त्रालय ताकेपछि विवाद उत्पन्न भएको हो ।
जसपा नेपालले जनमतसँग सामाजिक विकास मन्त्रालय दिने भनिएपनि अन्तिमसमयमा आएर भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय दिएपछि जनमत मुख्यमन्त्री यादवसँग चिढिएको छ भने जसपाले आफैसँग सो मन्त्रालय राख्ने दाउ लागेको छ । यता माओवादीले पनि सामाजिक विकास मन्त्रालय वा दुई वटा मन्त्रालय तोकेपछि सरकार विस्तारमा ढिलाई भएको हो ।
जनमत पार्टी मधेस प्रदेशका संसदीय दलका नेता महेश यादवले सामाजिक विकास मन्त्रालय मागेका भन्दै उनले सो मन्त्रालय पाएपछि पार्टीको तर्फबाट मन्त्री बन्नेहरुको नाम उपलब्ध गराउने बताए ।
माओवादी केन्द्रको ९ जना प्रदेश सभा सदस्य छन् भने एक स्वतन्त्र प्रदेशसभा सदस्यसहित १० जना छन् ।
माओवादीले दुईवटा मन्त्रालय मागेको माओवादी मधेस प्रदेश संसदीय दलका नेता भरतप्रसाद साहले बताए । तर मुख्यमन्त्री यादवले भने एक मन्त्री र एक राज्यमन्त्री मात्रै दिने स्पष्ट पारिसकेका छन् ।
माओवादीलाई एउटा विकासे र एउटा प्रशासनिक मन्त्रालय नदिए सरकारबाट बाहिरिएर बाहिरैबाट समर्थन गर्ने निवर्तमान मन्त्री समेत रहेका माओवादी संसदीय दलका नेता साहले बताए ।
माओवादीले दुई वटा मन्त्रालय माग गरे पनि उनीहरुलाई उद्योग, वन पर्यटन तथा वातावरण मन्त्रालय र एउटा राज्यमन्त्री दिने तयारी प्रदेश सरकारको रहेको छ ।
