जनकपुर, माघ १९
धनुषाको इलाका प्रहरी कार्यालय महेन्द्रनगरको हिरासत फोडेर भाग्ने छ जना मध्ये थप एक जना गरि चार जना पक्राउ परेका छन् ।
दैनिक जसो फरार अभियूक्तहरु पक्राउ पर्न थालेपछि पुनः एक पक्राउ परेको हो ।
लागुऔषध मुद्दामा पक्राउ परेर फरार भएका धनुषाको क्षिरेश्वरनाथ नगरपालिका वडा नम्बर ५ का ३५ वर्षीय विनोद कुमार शर्मा बुधबार राति पक्राउ परेका हुन् ।
मिथिला नगरपालिका वडा नम्बर १० स्थित रातु खोलाको बगरमा लुकेर बसेको अवस्थामा पक्राउ गरेको धनुषा प्रहरीका प्रवक्त तथा प्रहरी नायब उपरीक्षक प्रदीप बहादुर क्षेत्रीले जानकारी दिए ।
उनले पुस २८ मा लागुऔषधसहित पक्राउ परेका शर्माले नै हिरासत फोड्ने योजनाकार रहेको समेत बताए । हिरासतमा सबैभन्दा बढी १८ दिनदेखि शर्मा नै थुनुवा रहेका थिए । उनैले फोड्ने सुरुवात गरे र पछि अन्य थुनुवाको साथ पाएपछि फोड्न सफल भएर ६ जना एकसाथ फरार भएको उनको दावी छ ।
अभियूक्त शर्मासंगै फरार ६ जना मध्ये ४ जना पक्राउ परिसकेका छन् । अभद्र व्यवहार तथा शान्ति सुरक्षाविरुद्धको मुद्दाका फरार थुनुवा हरिदिप सिंह, अमित मण्डल र हातहतियार खरखजाना मुद्दाका रोशनलाई धनुषा प्रहरीले पक्राउ गरिरसकेको छ । अन्य दुई थुनुवाको पनि खोजी कार्य तिव्र पारिएको उनले बताए ।
