जनकपुर, माघ २०
मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले तीन सातापछि बल्ल मन्त्रीमण्डल विस्तार गरेका छन् ।
विस्तार गरिएको मन्त्रीमण्डलमा ६ जना मन्त्री र ३ जना राज्यमन्त्री थपिएका छन् ।
मन्त्रीमण्डलमा सहभागी मन्त्रीहरुले शपथ पनि लिएका छन् । तर दलित भने कोही अटाउन सकेनन् ।
गठबन्धन दलहरु मध्येका नेकपा माओवादी केन्द्रको आन्तरिक विवादका कारण मन्त्रिपरिषद्ले पूर्णता पाउन सकेन ।
मुख्यमन्त्री यादवले नेकपा माओवादी केन्द्र विना नै नेकपा एमाले, जनता समाजवादी पार्टी र जनमतलाई समेटेर मन्त्रीमण्डल विस्तार गरेका छन् ।
मधेश प्रदेश सरकारको ६ वटा मन्त्रालयको भागबण्डा गरेर मुख्यमन्त्री यादवले मन्त्रीमण्डल विस्तार गरेका छन् । जसअनुसार जसपाबाट सुरिता कुमारी साहलाई सामाजिक विकास र सिंगासन सा कलवारलाई खानेपानी तथा उर्जा विकास मन्त्रालयको जिम्मेवारी दिइएको छ ।
भने नेकपा एमालेबाट राजकुमार लेखी कानून न्याय तथा प्रदेशसभा मामिला मन्त्री बनेका छन् भने शत्रुधन प्रसाद सिंहलाई गृह तथा सञ्चार मन्त्रालयको जिम्मेवारी दिइएको छ । यस्तै मो. जयद आलमलाई महिला, बालबालिका युवा तथा खेलकुद मन्त्री बनाइएको छ ।
त्यस्तै जनमत पार्टीका संसदीय दलका नेता समेत रहेका महेशप्रसाद यादवले शिक्षा, विज्ञान प्रविधि तथा वाणिज्य मन्त्रालयको जिम्मेवारी सम्हालेका छन् ।
त्यस्तै राज्यमन्त्रीहरुमा जसपाबाट शेख अबुकलाम आजादलाई सामाजिक विकास मन्त्रालय, आज मात्रै नेकपा एमालेमा प्रवेश गरेका केशव राय चौधरीलाई गृह तथा सञ्चार राज्यमन्त्री र जनमतका संजयकुमार यादवलाई भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयको राज्यमन्त्रीको पद सम्हालेका छन् ।
मुख्यमन्त्री यादवले उद्योग, पर्यटन तथा वन मन्त्रालय आफैंसँग राखेका छन् ।
पुस २९ गते तीनजना विनाविभागिय मन्त्रीसहित मन्त्रीपरिषद् गठन गरेका मुख्यमन्त्री यादवले तीन सातापछि मन्त्रीमण्डल विस्तार गरिएको हो ।
यसअघि मुख्यमन्त्री यादवले माघ १२ गते नेकपा एमाले संसदीय दलका नेता सरोजकुमार यादवलाई भौतिक पूर्वाधार विकास मन्त्रालय, जनता समाजवादी पार्टी नेपालका संजय यादवलाई अर्थ मन्त्रालय र जनमत पार्टीका बसन्त कुशवाहालाई भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयको जिम्मेवारी दिएको थियो ।
