वीरगञ्ज, माघ २०

भारतीय राजदुतावासको निर्देशनमा वीरगञ्जको एक सडकको नामकरण गर्न खोजिएको भन्दै विवाद सृजना भएपछि वीरगञ्ज महानगरपाकिकाले तत्कालका लागि कार्यक्रम स्थगित गरेको जनाएको छ ।

वीरगन्ज महानगरपालिका वडा नम्बर १४ पिपरा स्थित सडकको नामाकरण अनावरण समारोह स्थगित गरिएको हो । बुधबार महानगनगरले एक सूचना जारी गर्दै सडक नामाकरण अनावरण समारोह हालका लागि स्थगित गरिएको जनाएको हो ।

वीरगञ्ज महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत लक्ष्मी प्रसाद पौडेलले महानगर भित्रको ऐतिहासिक पिपरा क्षेत्रमा अवस्थित पशुपतिनाथ मन्दिर, पिपरा मठ र लक्ष्मणवा पार्कको सौन्दर्यकरण तथा संरक्षण गर्ने योजना अगाडि बढिरहेको सन्दर्भमा अनेकथरीका दुष्प्रचार गर्ने प्रयास गरिएकोमा महानगरको गम्भिर ध्यानाकर्षण भएको जनाए ।

वीरगञ्ज महानगरपालिकाले पिप्रा स्थित नवनिर्मित लिंक रोडको नामकरण ‘महात्मा गान्धी मार्ग’ का लागि बिहीबार मधेस प्रदेशका मुख्यमन्त्री सरोज कुमार यादव र नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवबाट संयुक्त रुपमा नामाकरण अनावरण गराउने तय गरेको थियो ।

वीरगञ्ज महानगरपालिकाका मेयर राजेशमान सिंहले सडक अनावरण कार्यक्रमलाई दुष्प्रचार गरेर विवादित बनाउन खोजिएपछि भारतीय राजदूत नविन श्रीवास्तवको नाम समेत विवादित बनाउने खोजिएकोल स्थगित गरिएको बताए ।

उनले यस बारेमा सरोकारवालासँग परामर्श गरेर उक्त कार्यक्रम आयोजना पुनः गरिने समेत स्पष्ट पारे ।