काठमाण्डौ, चैत ४
सत्तारुढ गठबन्धनका १० दलबीच संघीय संसद्मा प्रस्तुत हुने संक्रमणकालीन न्यायसम्बन्धी विधेयकमा एकमतका साथ प्रस्तुत हुने सहमति बनेको छ ।
शनिबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको १० दलका शीर्ष नेताहरुको बैठकले संसद्मा प्रस्तुत गर्न लागिएको सत्य निरुपण तथा मेलमिलाप र बेपत्ता व्यक्ति छानबिन आयोग सम्बन्धी विधेयकमा एकमतका साथ प्रस्तुत हुने सहमति गरेको हो ।
त्यस्तै प्रतिनिधिसभामा सोमबार सरकारले विश्वासको मत लिने कार्यक्रम रहेको छ । त्यसका लागि पनि १० दल एकै ठाममा उभिने सहमति गरेको प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको सचिवालयले जनाएको छ ।
नेकपा एमाले, राप्रपालगायतकाले समर्थन फिर्ता लिएपछि प्रचण्डले पुनः विश्वासको मत लिन लागेका हुन् । पुस १० गते प्रधानमन्त्रीमा नियुक्त भएका प्रचण्डले पुस २६ गते प्रतिनिधिसभाबाट विश्वासको मत लिएका थिए ।
आजको बैठकमा माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री प्रचण्ड, कांग्रेसका सभापति शेरबहादुर देउवा र उपसभापति पूर्णबहादुर खड्का, नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल, जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादव, लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालका शरत्सिंह भण्डारी, सर्वेन्द्रनाथ शुक्ल, नेपाल समाजवादी पार्र्टीका अध्यक्ष डा. बाबुराम भट्टराई, नागरिक उन्मुक्ति पार्टीका अध्यक्ष रञ्जिता श्रेष्ठ, जनमत पार्टीका अध्यक्ष सीके राउत र आम जनता पार्टीका अध्यक्ष प्रभु साहलगायत छन् ।
