खोजवाणी संवाददाता
जनकपुर, भदौँ २०
नेपाली काँग्रेस सहमहामन्त्री महेन्द्र यादवमाथि भएको सांघातिक आक्रमणप्रति ध्यानाकर्षण भएको जनाउँदै धनुषा काँग्रेसले निन्दा गर्दै पक्राउ परेका अभियुक्तलाई कानुनी कारवाहीका लागि माग गरेका छन् ।
मुलुकमा सुशासन, भ्रष्टाचाररहीत र संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थालाई संस्थागत गर्नका लागि काम थालिरहेका बेला राजावादीहरु सरकारको काम देखेर बौलाएको भन्दै पक्राउ परेका राजावादी श्याम बहादुर सापकोटालाई कडा कारवाही गर्न काँग्रेस धनुषाका सहसचिव विजय यादवले माग गरेका हुन् ।
सहसचिव यादवले यस्ता खाले अराजक क्रियाकलापले अपराध मौलाउने भएकाले तत्काल कानुनी कारवाही गरि शान्ति सुरक्षाको प्रत्याभुति गराउन सरकारसँग माग गरे ।
बुधबार रिपोटर्स क्लबमा आयोजित साक्षात्कार कार्यक्रम सम्पन्नपछि फर्किने क्रममा पुर्वमन्त्रीसमेत रहेका सहमहामन्त्री यादवमाथि नुवाकोटको विदुर नगरपालिका तुप्चे घर भएका सापकोटाले खुकुरीले लिएर सांघातिक आक्रमण गरेका थिए ।
धारिलो हतियार खुकुरी प्रहारबाट नेता यादवको टाउकोमा चोट लागि घाइते भएका थिए ।
क्लबबाट नेता यादव बाहिरिएसँगै उनले पिछा गर्दै एकाएक आक्रमण गरेको थियो । ट्रमा सेन्टरमा उपचाररत्त नेता यादवलाई उनले झोलाबाट खुकुरी निकालेर प्रहार गरेको उनले बताए । नेता यादवको टाउकोको पछाडिको भागमा गहिरो चोट लागेको उनले बताए ।
