खोजवाणी संवाददाता
जनकपुर, भदौँ २१
सत्तारुढ जनता समाजवादी पार्टी (जसपा) नेपालले पुनर्गठन तथा प्रशिक्षण कार्यक्रमलाई तीव्रता दिएका छन् ।
जसपाको पहिचानमा आधारित राष्ट्रिय समितिले ज्ञानबहादुर तामाङको अध्यक्षतामा ताम्सालिङ राष्ट्रिय समिति पुनर्गठन गरिएको सो पार्टीका प्रचारप्रसार तथा प्रकाशन विभाग प्रमुख पूर्ण बस्नेतले जनाएका छन् । उनले दिएको जानकारी अनुसार यस अघि मनबहादुर गुरुङको अध्यक्षतामा ३१ सदस्यीय तमुवान राष्ट्रिय समिति पुनर्गठन गरिएको थियो ।
राष्ट्रिय समितिले समितिको पुनर्गठन गर्नुका साथै अभिमुखिकरण र प्रशिक्षण कार्यक्रम पनि गर्ने छन् । यसै अन्तर्गत शुक्रबार किरात राष्ट्रिय समितिले उदयपुरको बेलका नगरपालिकास्थित एलके खोज रिसोर्टमा अभिमुखीकरण तथा प्रशिक्षण कार्यक्रम गर्ने जसपाले जनाएको छ ।
जसपाको सङ्घीय परिषद् अध्यक्ष अशोककुमार राई, जसपा अध्यक्ष उपेन्द्र यादव, कार्यकारिणी सदस्य राजेन्द्र श्रेष्ठ, रकम चेम्जोङ, राजकिशोर यादव, पर्शुराम बस्नेत, सुशीला श्रेष्ठलगायतकाहरुले अगुवा कार्यकर्तालाई प्रशिक्षण दिने कार्यक्रम तय भएको प्रचारप्रसार तथा प्रकाशन विभाग प्रमुख बस्नेतले बताएका छन् ।
