खोजवाणी संवाददाता
जनकपुरधाम, असोज ३
मधेश केन्द्रित दलहरु संविधान जारी भएको दिनलाई कालो दिनको रुपमा मनाउँदै आएका छन् । यस पटकपनि महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टी नेपाल र वृशेषचन्द्र लालको नेतृत्वमा रहेको तराई मधेश लोकतान्त्रिक पार्टीले संविधानको विरोधमा जनकपुरधाममा विभिन्न कार्यक्रमहरु गर्ने जनाएका छन् ।
लोसपा नेपालले आज संविधान दिवस जारी भएको दिनको विरोधमा विरोध प्रदर्शन गर्ने जनाएको छ भने तमलोपाले जनकपुरधामको विभिन्न चोकमा कालो झण्डा झुण्ड्याउने र विरोध प्रदर्शन गर्ने जनाएको छ ।
तर नेकपा एमालेले मधेश प्रदेशको राजधानी जनकपुरधाममा संविधान दिवस मनाएका छन् ।
मधेश केन्द्रित दलहरु संविधान प्रति असन्तुष्टि जनाइरहँदा एमालेले भने जानकी मन्दिर परिसरमै नेपालको झण्डा लिएर संविधान दिवसको दिन विभिन्न कार्यक्रमहरुमा समेत सरिक भएका छन् ।

जानकी मन्दिरको दर्शन गर्दै एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल र सचिव योगेश भट्टराईले संविधान दिवस मनाएका छन् ।
संविधान दिवसको अवसरमा जानकी मन्दिरमा सरसफाइ र वृक्षारोपण कार्यक्रमपनि गरेको छ । यस कार्यक्रममा एमाले वरिष्ठ उपाध्यक्ष पोखरेल र सचिव भट्टराईले राष्ट्रिय झण्डा हल्लाउँदै संविधान दिवस मनाएका हुन् ।

पुर्वमन्त्रीसमेत रहेका नेता पोखरेलले वर्तमान संविधानलाई ‘उत्कृष्ट’ भन्दै सबैले गर्व गर्नुपर्ने बताए । उनले जनताबाटै निर्वाचित जनप्रतिनिधिले बनाएको संविधान भएकाले यसप्रति सबैले गर्व गर्नुपर्ने बताए ।
उनले संविधान गतिशील दस्ताबेज रहेकाले आवश्यकता अनुसार संविधान संशोधन गर्न सकिने बताए ।


