खोजवाणी संवाददाता
जनकपुरधाम, असोज ३
संविधान प्रति असन्तुष्टि जनाउँदै तराई मधेश लोकतान्त्रिक पार्टीले आज विहान जनकपुरधामको विभिन्न चोकमा कालो झण्डा प्रदर्शन गरेको छ ।
जनकपुरधामको नगर प्रदर्शन गर्दै चोक चोकमा कालो झण्डा प्रदर्शन गर्दै शिव चोक, जनक चोकमा पुगेर कोणसभामा परिणत भई समापन गर्ने क्रममा प्रहरीले हस्तक्षेप गरी दमन गर्न खोजेको तमलोपाका केन्द्रिय सदस्य उमेश मण्डलले जनाएका छन् ।

उनले ०७२ मा जारी भएको संविधान दिवसको दिन मधेशमा राज्यले नै प्रहरी प्रशासन लगाएर मधेशीको हत्या गरिरहेकाले सो दिनको विरोध गरेको बताए । उनले अहिलेको संविधानमा मधेश र मधेशीलाई अझैपनि अधिकार, पहिचान, सांस्कृतिक र प्रादेशिक संरचना आएपनि अधिकार सम्पन्न प्रदेशसँग प्रहरी प्रशासनसहितका अधिकार नरहेको भन्दै विरोध गरेको बताए ।
नेता मण्डलले संविधानमा जनसंख्याको आधारमा मधेशलाई समानुपातिकसहितको राज्यको हरेक निकायमा पहुँच हुनुपर्ने, प्रदेश संरचना अनुसार प्रदेशलाई अधिकार सम्पन्न बनाउनुपर्नेलगायतका मागहरु रहेको बताए ।

मधेश केन्द्रित दलहरु संविधान जारी भएको दिनलाई कालो दिनको रुपमा मनाउँदै आएका छन् ।
त्यस्तै सत्तारुढ लोकतान्त्रिक समाजवादी पार्टी नेपालले पनि संविधानको विरोधमा प्रदर्शन गर्ने निर्धारित कार्यक्रम रहेको जनाएको छ ।
यता नेकपा एमालेले भने जनकपुरधाममा संविधान दिवस मनाएका छन् ।
