खोजवाणी संवाददाता
जनकपुर, असोज ३०

बडा दसैँको अवसरमा भइरहेको नवरात्रको तेस्रो दिन आज नौ दुर्गामध्येकी तेस्रो चन्द्रघण्टा देवीको विधिपूर्वक पूजा आराधना गरिँदैछ ।

नवदुर्गामध्येकी तेस्रो देवी चन्द्रघण्टाले हातमा चन्द्रमाको आधार भएको घण्ट लिने भएकाले यिनको नाम चन्द्रघण्टा रहन गएको धार्मिक पौराणिक एवं धर्मशास्त्रीय ग्रन्थमा उल्लेख छ । चनद्रघण्टा देवीको पूजा आराधनाले शक्ति प्राप्त हुने भएकाले नवरात्रका अवसरमा विशेष पूजा आराधना गर्ने परम्परा रहेको छ ।

चन्द्रघण्टा देवीबाट कृपा भएमा समग्र पाप नाश हुने देवीको वर्णन गरिएका विभिन्न पुराण ग्रन्थमा उल्लेख गरिएको छ ।

गीत सङ्गीत क्षेत्रमा लागेकाले चन्द्रघण्टा देवीको विशेष पूजाअर्चना तथा आराधना गरिन्छ । आजका दिन चन्द्रघण्टा देवीको विशेष पूजा आराधनासहित ध्यान गर्नाले ललाटमा चमक प्राप्त हुने धार्मिक विश्वास रहेको छ ।

नवरात्रको पहिलो दिन आइतबार दसैँघर वा पूजा कोठामा वैदिक विधिपूर्वक घटस्थापना गरी जौको जमरा राखिएको थियो ।

घटस्थापना गरिएको दिन घडामा नौ दुर्गामध्येकी पहिलो देवी शैलपुत्रीको आह्वान गरी विधिपूर्वक पूजा अर्चना तथा आराधना गरिएको थियो ।

दोस्रो दिन नवदुर्गामध्येकी दोस्रो ब्रह्मचारिणी देवीलाई आह्वान गरी विधिपूर्वक पूजाअर्चना तथा आराधना गरिएको थियो ।

ब्डा दसैँको पहिलो दिन शैलपुत्री, दोस्रो दिन ब्रह्मचारिणी, तेस्रो दिन चन्द्रघण्टा, चौथो दिन कुष्माण्डा, पाँचौं दिन स्कन्दमाता, छैटौँ दिन कात्यायनी, सातौँ दिन कालरात्री, आठौँ दिन महागौरी, र नवौँ दिन सिद्धिदात्रीको पूजा आराधना गर्ने गरिन्छ ।

नवरात्रका अवसरमा देशभरका विभिन्न देवीरुपी शक्तिपीठमा पूजा आराधना एवं दर्शन गर्ने भक्तजनहरुको अत्याधिक भीड लाग्छ ।