खोजवाणी संवाददाता
जनकपुर, कार्तिक ५

बडादसैँको आठौँ दिन आज महाअष्टमी पर्व । आश्विन शुक्ल अष्टमीका दिनमा मनाइने महाअष्टमी पर्वमा दुर्गा भवानीको विशेष पूजाआराधना गरी भव्यरूपमा मनाउँदैछन् ।

आज महाकाली, महालक्ष्मी र महासरस्वतीको विशेष पूजाआराधना गरिन्छ । महाअष्टमीको दिन दुर्गा भवानीलाई शक्तिशाली बनाउने दिन भएकाले विभिन्न वैदिक सनातन परम्पराका धार्मिक ग्रन्थमा विशेषरुपमा उल्लेख गरिएको छ ।

धार्मिक शास्त्रसम्मतरूपमा दसैँ घर, कोतलगायत राज्यका विभिन्न शक्तिपीठमा पशु बलि दिई दुर्गा भवानीलाई खुसी पार्नका लागि विशेष पूजाआजा गरिन्छ । दुर्गा सप्तशती, श्रीमद्देवीभागवत र देवी स्तोत्र पाठसमेत गरिन्छ ।

विवेकशील र अविवेकशील प्राणी दुवैले मोक्ष प्राप्तिको चाहनाका कारण देवमन्दिर र यज्ञ यज्ञादिमा विधिपूर्वक बलि दिनाले ती पशुले मोक्ष प्राप्त गरी माथिल्लो योनीमा जन्म लिने कुरा शास्त्रमा उल्लेख छ ।

धर्मशास्त्रविद्हरूका अनुसार राज्य सञ्चालकले प्रभु शक्ति, मन्त्र शक्ति र उत्साह शक्तिका लागि पशु बलि विधिपूर्वक दिनु पर्ने अनिवार्य व्यवस्था गरिएको छ ।

आज राति कालरात्रिका रूपमा पशु बलिको धार्मिक विधिवतरुपमा पूजाआराधनासहित मनाउने गरिन्छ । कालरात्रिको पूजा विधि र सङ्कल्पसमेत छुट्टै हुने भएकाले यसको विशेष महत्त्व रहेको छ । आजको दिन ब्राह्मणले कालरात्रि पूजा पनि गर्न नपर्ने विधानमा उल्लेख छ ।

आज कलपुर्जा, हातहतियार र यातायातका साधनलाई विशेषरूपमा सरसफाइ गरी देवी स्थापना गरिएको स्थानमा राखी पशु बलिसहित पूजाआजा गर्ने गरिने परम्परा रहेको छ ।

पशु बलि नचढाउनेहरुले आफ्नो कुल परम्पराअनुसार काँक्रो, घिरौँला, कुभिण्डो, मूला र नरिवल आदि बलि चढाई पूजाआजा गर्नेछ ।