खोजवाणी संवाददाता
जनकपुर, कार्तिक १५
जनकपुरधाम उपमहानगरपालिका विरुद्ध ई–रिक्सा चालकहरु आन्दोलन गर्ने चेतावनी दिएका छन् ।
बुधबार जनकपुरधाममा आयोजित पत्रकार सम्मेलनमा जनकपुरधाम उपमहानगरपालिकाले ई–रिक्साको व्यवस्थापनका लागि बनाएको मस्यौदाप्रति आपत्ति जनाउँदै तत्काल नसच्याए आफुहरु आन्दोलनमा उत्रिने नेपाल ई–रिक्सा मजदुर संगठन धनुषाले चेतावनी दिएका हुन् ।
नेपाल ई–रिक्सा मजदुर संगठन धनुषाका अध्यक्ष बिरेन्द्रकुमार महतोले आफुहरुलाई बेवास्ता गरी जनकपुरधाम उपमहानगरले ल्याएको ई–रिक्सा व्यवस्थापन सम्बन्धी मस्यौदा ई–रिक्सा चालक विरोधी रहेकाले आफुहरुलाई अमान्य रहेको बताए ।
उनीहरुले जनकपुरधाम उपमहानगरले ६ बुँदे माग पुरा नगरे तीन दिन पछि चरणवद्ध आन्दोलन गर्ने बताएका छन् ।
उनीहरुले जनकपुरधाम उपमहानगरपालिका अन्तर्गत ई–रिक्साको दर्ता हुनुपर्ने, ई–रिक्सा चालकहरुलाई जनकपुरधाम उपमहानगरको र नेपाल ई–रिक्सा मजदुर संगठन धनुषाको सिफारिसमा चालक अनुमति पत्र उपलब्ध गराउनुपर्ने, जनकपुरधाम उपमहानगर भित्र प्रत्येक चोकमा ई–रिक्सा स्टैण्ड कायम हुनुपर्ने, ई– रिक्सा चालकहरुलाई सेफ्टी पोशाक र जुत्ता उपलब्ध गराउनुपर्ने, ई–रिक्सा चालकहरुलाई स्वास्थ्य जाँच तथा जिवन विमा उपलब्ध गराउनुपर्ने र विभिन्न संघसंस्थाका प्रतिनिधिमुलक छलफल गरी जनकपुरधाम उपमहानगरले दर रेट निर्धारण गर्नुपर्ने माग राख्दै तत्काल पुरा गर्न जनकपुरधाम उपमहानगरलाई आग्रह गरेका छन् ।



