खोजवाणी संवाददाता
जनकपुर, कार्तिक १५
मधेश प्रदेश सरकारको उर्जा, सिँचाइ तथा खानेपानी राज्यमन्त्री शेख अबदुल कलाम आजाद (फुलबाबू) को सरकारी गाडीले ठक्कर हान्दै भागेपछि आक्रोशित स्थानीयवासीहरुले तोडफोड गरेका छन् । सरकारी गाडीले ठक्कर दिदाँ तीन जना यूवाहरु घाइते भएका छन् भने घाइते भएका मध्ये एक जनाको अवस्था गम्भीर रहेको जनाइएको छ ।
घाइते भएकाहरु एउटै मोटरसाइकलमा सवार थिए ।
जिल्लाको बरहथवा नगरपालिका वडा नम्बर ९ स्थित मुक्तेश्वर चौक स्थित मंगलबार साँझ बरहथवाबाट नयाँरोडतर्फ जाँदै गरेको मधेश प्रदेश ०२ ००१ झ ०२४० सरकारी नम्बर प्लेटको स्कोरपिओ र विपरीत दिशाबाट आउँदै गरेको बा ४३ प १२६३ नम्बरको मोटरसाइकल एकापसमा ठोकिँदा मोटरसाइकलमा सवार रहेका बरहथवा नगरपालिका–५ का १८ वर्षिय सुमन महतो, चन्द्रनगर गाउँपालिका–५ का १८ वर्षिय दिपक महतो र बागमती नगरपालिका–१० शंकरपुरका १९ वर्षिय अजय महतो गम्भीर घाइते भएको सर्लाही प्रहरीले जनाएको छ ।
घाइतेमध्ये दिपकको टाउकोमा सख्त चोट लागेकोले उनको अवस्था चिन्ताजनक रहेको सर्लाही प्रहरीका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक दिपेन्द्र पञ्जियार थारुले जनाएका छन् । उनले घाइते तीनै जनाको उपचार वीरगञ्जको एलएस न्युरो हस्पिटलमा भइरहेको छ । भने सरकारी गाडीमा सवार सबै जना दुर्घटना स्थलबाट फरार छन् ।
स्थानीयवासीका अनुसार सरकारी गाडीमा सवारहरुले मदिरासेवन गरेका कारण विपरीत दिशाबाट आइरहेको मोटरसाइकललाई ठक्कर दिएपछि मोटरसाइकलमा सवार तीनै जना करिब १० फिट माथिसम्म उडेर भुइँमा झरेका थिए ।
राज्यमन्त्री फुलबाबूको सरकारी नम्बर प्लेटको गाडीले ठक्कर दिएपछि घाइते भएकाहरुलाई उद्धार गर्नुको साटो गाडी छोडेर भागेपछि आक्रोशित स्थानीयवासीहरुले गाडी तोडफोड गरेको थियो ।
यस विषयमा मधेश प्रदेश सरकारले जानकारी नभएको भन्दै अनभिज्ञता प्रकट गरेका छन् ।



