खोजवाणी संवाददाता
काठमाण्डौ, कार्तिक १८
इजरायलमा हमास समूहले गरेको आक्रमणमा परि ज्यान गुमाएका १० नेपाली विद्यार्थीमध्ये थप तीनजनाको शव नेपाल आइपुगेको छ ।
फ्लाई दुबईको हवाइजहाजमार्फत धनुषा लक्ष्मनीया गाउँपालिका वडा नम्बर ६ स्थित सापहीका आनन्द शाह, सुनसरी मधुवन वडा नम्बर १ बस्ने राजेशकुमार स्वर्णकार र डोटी पचनाली वडा नम्बर ३ बस्ने राजन फुलाराको शव नेपाल आइपुगेको परराष्ट्र मन्त्रालयका सहसचिव शरदराज आरणले जनाएका छन् । उनले फुलाराको शव हिजो दिउँसो, स्वर्णकारको गएराति र शाहको शव आज नेपाल आइपुगेको बताए।
इजरायलमा असोज २० मा हमास समूहको आक्रमणमा परि १० जना नेपाली विद्यार्थीको ज्यान गएको थियो । जसमध्ये आठ जना नेपाली विद्यार्थीको शव नेपाल आइपुगेको छ ।
शाह र स्वर्णकारको शव आजै सम्बन्धित जिल्लामा नेपाली सेनाको हेलिकप्टरबाट पठाउने सहसचिव आरणले बताए ।
बझाङ जयपृथ्वी–६ का गणेशकुमार नेपाली, दार्चुला मालिकार्जन–४ का लोकेन्द्रसिंह धामी, दार्चुला लेकम–५ का दीपेशराज विष्ट, धनुषा सापही–६ का आनन्द शाह, कैलाली घोडाघोडी–४ का नारायणप्रसाद न्यौपाने, सुनसरी मधुवन–१ का राजेशकुमार स्वर्णकार, डोटी पचनाली–३ का राजन फुलारा तथा कैलाली बौनियाँ–३ का आशीष चौधरीको शव नेपाल यस अघि नै आइसकेको छ ।
सुदूरपश्चिम विश्वविद्यालयको कृषि क्षेत्रको ‘लर्न एण्ड अर्न’ कार्यक्रमअन्तर्गत ती विद्यार्थीहरु इजरायल गएका थिए ।
आक्रमणमा परि ज्यान गुमाएका थप दुई जना डोटी लामीखाल वडा नम्बर ८ का पदम थापा र सल्यान सारदा वडा नम्बर ३ का प्रवेश भण्डारी रहेका छन् ।
आक्रमणमा परि कञ्चनपुर भीमदत्त नगरपालिका वडा नम्बर ३ का विपीन जोशी भने सम्पर्कविहीन छन् । जोशी हमासको बन्धकमा छ ।



