खोजवाणी
जनकपुरधाम ।
आश्विन शुक्ल द्वितीया अर्थात् शारदिय नवरात्रको आज दोस्रो दिन हो । माता ब्रह्मचारिणी देवीको विधिपूर्वक पूजाआराधना गरी कठोर तप गर्ने भन्ने बुझिन्छ ।
बह्म अर्थात् तपस्याको आचारण गर्ने भएकीले देवीलाई ब्रह्मचारिणी भनिन्छ । ब्रह्मचारिणीलाई देवी दुर्गाको दोस्रो स्वरुपका रुपमा लिइछ। देवी पुराणको ४५औँ अध्यायअनुसार तपस्यामा मग्न हुने भएकाले देवी ब्रह्मचारिणीको तेज पनि बढ्दै गएको थियो ।
सेतो कपडा लगाइकी, दायाँ हातमा माला, बायाँ हातमा कमण्डलु लिएकी ब्रह्मचारिणीलाई ज्ञान, तपस्या र वैराग्यको देवी पनि मानिन्छ । ब्रह्मचारिणी देवीको आराधना गर्नले ज्ञान सिद्ध हुनुको साथै विजय प्राप्त हुने धार्मिक विश्वास छ ।
यस दिन कुमारी कन्याहरूको पूजा गरी घरमा भोजन गराएपछि मात्र आफूले भोजन गर्ने परम्परा रहेको छ । शास्त्रीय प्रमाणहरूको आधारमा हरेक शुभकार्यमा गरिने कन्यापूजाका लागि दुई वर्षसम्मका बालिका योग्य रहेको मानिन्छ ।
यद्यपि, रजस्वला हुनुपूर्वका बालिका पनि कन्यापूजाका लागि योग्य भएको लोकोक्ति छ । नवरात्रको पहिलो दिन शैलपुत्री देवीको पूजा आराधना गरिएको थियो ।
आजकै दिन ब्रह्मचारिणीको आराधना गर्नाले आयु, शक्ति, भौतिक सुख तथा दाम्पत्य सुख मिल्ने धार्मिक मान्यता रहेको छ ।
देवी ब्रह्मचारिणीको पूजा गर्दा फूल, अक्षत, रोली, चंदनले पूजा गरिन्छ । दूध, दही, सख्खर, घृत, वा मधु बाट स्नान गरि प्रसाद चडाइन्छ ।
प्रसाद पश्चात आचमन र फेरी पान, सुपारी भेटी दिनु पर्ने परम्परा चलि आएको छ ।
कलश देवता पूजापछि यही प्रकारले नवग्रह, दशदिक्पाल, नगर देवता, ग्राम देवताको पनि पूजा गरिने गरिन्छ ।



