खोजवाणी
जनकपुरधाम ।

बडा दशैँ, तिहार तथा छठ पर्वलाई मध्यनजर गर्दै मधेश प्रदेश प्रहरीले सुरक्षा योजना सार्वजनिक गरेको छ ।

मधेश प्रदेश प्रहरी कार्यालय जनकपुरधामले प्रदेशलाई भयरहित चाड पर्व मनाउन प्रदेशका हरेक जिल्लामा १ हजार ४ सय ५० भन्दा बढी प्रहरी टोली खटाइएको जनाएको छ । चाडपर्वमा हुन सक्ने विभिन्न अपराधलाई वर्गीकरण गर्दै सुरक्षा योजना तयार पारिएको जनाइएको छ । प्रहरीले मधेश प्रदेशमा हुनसक्ने सम्भावित अपराधहरूमा चोरी तस्करी, मठ मन्दिरमा पूजाआजा भिडभाड, सवारीसाधनको बढी चाप, कालो बजारी, जुवा तास, मूर्ति विसर्जनको सुरक्षा, पकेटमारी÷चेन स्न्याचिङलगायत घटना, मेलाहरूमा सुरक्षा, सांस्कृतिक सुरक्षा, सरकारी कार्यालयको सुरक्षा, बैंक तथा वित्तीय संस्थाहरूमा भीडभाड, चोरी बढ्न सक्ने, पटका तथा आतीशबाजीको प्रयोग, मादक पदार्थ तथा लागूऔषधको सेवन गरी सवारी चलाउनेलाई सम्भावित अपराधको रुपमा वर्गीकरण गरेको छ ।

लागु औषध कारोबार, धार्मिक सद्भाव, यात्रुहरू ठगिने समस्याहरूलाई प्रदेश प्रहरीले सुरक्षा चुनौतीको शीर्षकमा राखेको छ ।
मधेश प्रदेशमा १७ प्रकारका चुनौतीहरू रहेको प्रदेश प्रहरीले जनाएको छ ।

मधेशको ८ वटै जिल्लामा एकै किसिमको प्रवृत्तिका चुनौतीहरू रहेको पाइएको मधेश प्रदेश प्रहरीका प्रहरी नायब निरीक्षक लालमणि आचार्यले बताए ।

मधेशका ८ वटै जिल्ला खुल्ला सीमा नाका भएका कारण प्रदेशका जिल्लाहरूमा चोरी र तस्करी मुख्य चुनौती देखिएको उनले बताए ।
मधेश प्रदेश प्रहरीको चाडपर्व लक्षित गर्दै तयार पारेको सुरक्षा योजना असोज १५ गतेदेखि कार्तिक २५ सम्म लागु रहने जनाइएको छ ।