खोजवाणी
जनकपुरधाम ।

बडा दशैँको अवसरमा आज जनकपुरधामस्थित राजदेवीलगायतका विभिन्न शक्तिपीठहरुको बेलनौती गर्ने कार्यक्रम हुँदै छ ।

तिथिको हेरफेरका कारण कतिपय ठाउँमा मंगलबार नै बेलनौती कार्यक्रम सम्पन्न भए पनि राजदेवीलगायतका शक्तिपीठहरुमा आज बेलनौती हुँदै छ । पूजा स्थलबाट बाजागाजासहित नजिकको बेलको रुखमा चढेर एउटै हांगामा फलेको दुई बेललाई मिथिलामा बेलनौती गर्ने परम्परा रहँदै आएको छ ।

वैदिक मन्त्रोच्चारणसहित निम्ता गरेर बाँधिएको बेलको फललाई पुनः अर्को दिन सो फल टिपेर पूजा स्थलमा भित्र्याइँने चलन रहेको छ । जसलाई मिथिलाञ्चलमा बेलतोडी पनि भन्ने गरिन्छ । आचार्य सन्तोष पाण्डेयका अनुसार तिथि मितिको हेरफेरका कारणले गर्दा बेलनौती कार्यक्रम पनि प्रभावित भएको छ ।

घटबढ भएको तिथि अनुसार बुधबार मिथिलामा बेलनौती र बिहीबार बेलतोडी कार्यक्रम हुने भएको छ । राजदेवी मन्दिरमा सोही अनुसार बेलनौती र बेलतोडी कार्यक्रम रहेको राजदेवी मन्दिरका पण्डित गणेश झाले बताए । तिथि मितिकै घटबढका कारण यसपटक खोइँच भराइँ र बली प्रदान कार्यक्रम पनि हेरफेर भएको छ ।

तिथि मिति हेरफेर भएसंगै भक्तजनहरुमा अन्योलतासमेत कायम भएको देखिएको छ । राजदेवी मन्दिरमा बिहीबारदेखि नै खोइँच भराइँ कार्यक्रम हुने भएको छ ।

सोही दिनको बेलुकी देखि बोका बली प्रदानसमेत गरिने छ । त्यस्तै विद्यापति मुरलीसर चोक स्थित दुर्गा मन्दिरमा खोइँच भराइँ कार्यक्रम शुक्रबार रहेको जनाइएको छ ।