 
							खोजवाणी
जनकपुरधाम ।
बडा दशैँ, तिहार र छठ पर्व आएसंगै जनकपुरधाममा अनुगमनका लागि स्थानीय प्रशासन सक्रियतामा अनुगन हुने गरेको छ ।
यस अघि गुणस्तरहीन कमसल र अखाद्यवस्तुसहितका सामग्रीको बिक्रीवितरण भइरहेको र सोही सामग्री सेवाग्राहीहरु उपभोग गर्दै आएको गुनासाहरु आए पनि वेवास्ता गर्दै आएका स्थानीय प्रशासन अहिले एक समूह बनाएर अनुमगन गर्ने नाममा सक्रिय भएका छन् ।
जनकपुरधामस्थित गोपाल धर्मशालामा लाग्ने गरेको साताव्यापी सस्तो बजारमा समेत अखाद्य तथा गुणस्तरहीन सामग्रीहरु बिक्रीवितरण हुँदा पनि वास्ता नगर्दै चाडपर्व लक्षित बजार अनुगमन तीव्र रुपमा गर्ने गरेकाले सो कार्यलाई स्थानीयहरुले आशंका गर्न थालेका छन् ।
चाडपर्वको समयमा उपभोक्ता ठगी, गुणस्तरहीन सामानको विक्री र मूल्यवृद्धि रोकथामका लागि घरेलु तथा साना उद्योग कार्यालय जनकपुरधामको संयुक्त टोलीले अनुगमलाई तीव्रता दिएको दाबी गरिए पनि स्थानीय उपभोक्ताले भने अधिकांश होटेलमा मिष्ठानदेखि भोजनसम्ममा अखाद्य तथा बासी खाद्यान्न सामग्री एवं म्याद गुज्रेका वस्तुहरु प्रयोग गर्दा पनि वेवास्ता गर्दै आएको गुनासो गरेका छन् ।
स्थानीय रोशन कुमार साहले चाडपर्वमा अनुगमन गर्नु राम्रै काम रहे पनि अन्यदिनमा पनि अनुगमन गरी कानुनी कारबाही गर्नुपर्ने बताए ।
उनले होटेल व्यवसायी तथा पसलेहरुसंग कुरा मिलाउने नाममा गरिने अनुगमनले उपभोक्ता तथा ग्राहकको स्वास्थ्यमाथि खेलवाड गरिरहेको आरोप लगाए ।
सो अनुगमनको क्रममा जानकी चोकस्थित शम्भु किराना पसलबाट म्याद गुज्रिएका खाद्य सामग्रीहरु चियापति, मसाला बरामद गरिएका छन् । भने सोही स्थानको कुनाल शुद्ध शाकाहारी भोजनालयबाट म्याद गुज्रिएका कोक, फेन्टा बरामद गरी सो सामग्रीलाई प्रशासन कार्यालय परिसरमा नष्ट गरिएको छ ।
जानकी मन्दिरकै पूर्वपट्टीतर्फ अगाडि रहेको हँसराज मिष्ठान भण्डारले बाल मजदुर प्रयोग गरेको पाइए पनि स्थानीय प्रशासनसहितको अनुगमन गर्न पुगेका टोली भने मुकदर्शक देखिएको प्रत्यक्षदर्शीहरुले आरोप लगाएका छन् ।
जानकी मन्दिर वरपरका मिठाई तथा खाजानास्ता पसलहरुमा स्वच्छता सम्बन्धि सामग्री प्रयोग नभएको पाइए पनि चेतावनी दिएर होटेल व्यवसायीहरुलाई छाडेको भन्दै उपभोक्ताहरुले स्थानीय प्रशासनको क्षमतामाथि नै प्रश्न खडा गरेका छन् ।
त्यस्तै मानवअधिकारकर्मीहरुले समेत जनकपुरधाम बाल मजदुर मुक्त रहेको भन्दै दाबी गरिरहेको समयमा स्थानीय प्रशासनले गरेको अनुगमनमा देखिएको बाल अधिकारप्रति भद्दा मजाक भएको देखिए पनि बाल अधिकारकर्मीदेखि स्थानीय प्रशासनसमेत मौन हुनु दुर्भाग्यपूर्ण रहेको मानवअधिकारकर्मी वीरेन्द्र कर्णले बताए ।
बडादशैँको क्रममा गरिने अनुगमनको नाममा दाम कमाउनका लागि मात्रै कथित अनुगमन गर्ने गरेको उनीहरुले आरोप लगाएका छन् ।
 
									 
									 
									 
									 
									 
									 
									 
									 
									 
									 
									 
									 
									 
									 
									 
									 
									

 
												 
												 
												 
												 
												 
												

 
								 
								 
								 
								