जनकपुरधाम ।

आज कार्तिक कृष्ण त्रयोदशीका दिन काग तिहार धुमधामसाथ मनाइँदै आएको छ । शास्त्रमा कागलाई सन्देशवाहक र चेतावनी दिने प्रतीकको रूपमा लिने गरिन्छ । यसवर्ष काग तिहार आज मनाइँदै छ । कागलाई नेपाली संस्कृति र परम्परामा सन्देशवाहक चराको रुपमा लिइन्छ । आजकै दिन कागलाई श्रद्धा र सम्मान अर्पण गर्ने विशेष दिनको रुपमा लिइने गरिन्छ ।

काग यमलोक र मृत्यूलोक दुवै ठाउँमा उडेर पुग्न सक्छ भन्ने मान्यता रहेको छ । त्यसैले लोकमा भएको शुभ सन्देश लिएर जाओस्, अशुभ सन्देश नसुनाओस् भनेर ‘काक बलि’ अर्थात् कागलाई मनपर्ने परिकार खान दिई सम्मान गरिने परम्परा रहेको छ ।

काग अत्यन्तै चलाख पक्षीको रुपमा रहेको छ । काग यमराजको प्रियपात्र भएकाले सन्देशवाहकका रूपमा पनि कागको पूजा गरिन्छ । कागपूजाको परम्पराको सुरुवात पुराणहरूमा उल्लेखित कागसँग सम्बन्धित कथाहरू र धार्मिक मान्यताहरूबाट भएको धार्मिक विश्वास गरिन्छ । वेद, पुराण, महाभारत, रामायणजस्ता ग्रन्थहरूमा कागको उल्लेख विभिन्न सन्दर्भमा रहेको छ । गरुड पुराण र स्कन्द पुराणमा कागलाई यमराजको दूत मानिन्छ ।

धार्मिक मान्यता अनुसार कागको आवाज वा उपस्थितिले अनिष्टको संकेत दिन सक्छ, जसले मानिसलाई सतर्क गराउँछ । गरुड पुराणमा उल्लेख प्रसङ्ग अनुसार कागलाई पितृहरूको आत्मासँग सम्बन्धित मानिएको छ । हिन्दु संस्कारमा पितृपक्षमा कागलाई अन्न या खानेकुरा चढाउने चलन छ, जसलाई पितृहरूको तृप्तिका लागि गरिन्छ ।

कागले पितृहरूको सन्देश लिन्छ र आशीर्वाद प्राप्त गर्ने माध्यम बन्छ । रामायणको प्रसंगअनुसार कागको रूप धारण गरेको इन्द्रपुत्र जयन्तले सीतालाई अपमान गरेपछि भगवान रामले उनलाई दण्डित गरेका थिए, जसले न्यायको महत्त्वलाई दर्शाउँछ । सर्वभक्षी प्राणीका रूपमा पनि कागलाई नै लिने गरिन्छ । कागलाई खुसी पारेर तिनको अनुकम्पा प्राप्त गर्ने विश्वासले कागपूजाको प्रचलन सुरु भएको धर्म ग्रन्थहरुमा उल्लेख गरिएको छ ।

कागलाई शनि देवताको वाहनको रूपमा पनि मानिने भएकाले यसलाई न्याय र कर्मका प्रतीकको रूपमा हेरिन्छ । कागले व्यक्तिका कर्महरूको फलको प्रतिनिधित्व गर्न सक्छ भन्ने धार्मिकविश्वास छ ।

शनि देवताको पूजा गर्दा कागलाई भोग अर्पण गर्नाले शुभ फल प्राप्त हुने विश्वास गरिन्छ । विशेषतः शनिबारको दिन कागलाई चारो वा खानेकुरा दिनाले शनि जन्य दोष कम भएर जान्छ भन्ने ज्योतिषीय मान्यता रहेको छ । जातक कुण्डलीमा शनि दोष भएमा कागको पूजा गर्ने सल्लाह दिइन्छ, त्यसैले पनि यमपञ्चकमा काग पूजाको महत्त्व विशेष रहन गएको छ ।
कागको सम्बन्ध धार्मिक, सांस्कृतिक र आध्यात्मिक रूपमा रहेको छ । शास्त्रमा कागलाई केवल एक साधारण पक्षीको रूपमा नभएर

सन्देशवाहक, चेतावनी दिने प्रतीक, शनिग्रह र पितृहरूको प्रतिनिधिको रूपमा गहिरो अर्थ दिइएको छ । यसको पूजा र सम्मान गर्दा पितृ देवता, यमराज र शनिग्रह प्रसन्न हुने धार्मिक विश्वास रहेको छ ।