जनकपुरधाम ।

महान छठ पर्व आजदेखि विधिवत रुपमा सुरु भएको छ । मुख्य विधिअन्तर्गत पहिलो दिन (चतुर्थी) विधिमा अरबा–अरबाइन गरिन्छ, यसलाई नहाय–खाय पनि भनिन्छ । आज व्रतालुले जीउ चोख्याउने काम गर्छन् ।

त्यस्तै दोस्रो दिन खरना, तेस्रो दिन अस्ताउँदो र चौँथो दिन उदाउँदो सूर्यलाई अर्घ दिने धार्मिक परम्परा रहेको छ ।

सूर्य उपासना परम्पराको मोहक पद्धति मानिएको छठ पर्वमा अस्ताउँदो र उदाउँदो सूर्यलाई पूजा गरिन्छ । अहिले मिथिला–मधेशको विभिन्न स्थानमा पोखरी सरसफाईका कार्यहरु तीव्र रुपमा भइरहेको छ ।

सूर्य पुराणअनुसार सर्वप्रथम पत्नी अनुसुयाले छठ व्रत गरेकी थिइन् । फलस्वरुप उनले अटल सौभाग्य र परिप्रेम प्राप्त गरिन् र त्यसै बेलादेखि छठ पर्वको परम्पराको आरम्भ भएको मानिन्छ ।

छठ पर्व गर्ने व्रतालुले इच्छाएको फल प्राप्त हुने, निःसन्तान दम्पतिले सन्तान पाउने, सुखी, समृद्धि र सफलता मिल्ने धार्मिक विश्वास रहेको छ ।