जनकपुरधाम ।

यही मंसिर २१ गते हुने सीताराम विवाह महोत्सवको तयारीमा जानकी जुटेको छ ।

प्रत्येक वर्ष विशेष कार्यक्रम गरी मनाइने विवाह महोत्सव विभिन्न विधिसहित कार्यक्रम गरेर मनाइँदै आएको छ । प्रत्येक पाँच वर्षमा अयोध्याबाट विशेष रुपमा जन्ती आउने र सीताराम विवाहको स्वरुप धुमधामसाथ मिथिला–अवधको सांस्कृतिक ऐतिहासिकता र महत्वलाई उजागर गर्दै आएको छ ।

यसवर्ष पनि सीताराम विवाह महोत्सवमा जन्ती आउन अयोध्याका सन्तमहन्तलाई आमन्त्रण गर्न मंसिर १ गते जानकी मन्दिरबाट तिलक लगिने भएको छ ।

जन्तीमा अयोध्याबाट उच्चस्तरीय सन्तमहन्तहरु आउने गर्छन् । विगतमा विवाह महोत्सवमा भारत उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथ सहभागी भएका थिए । मिथिलामा जन्ती आउनु भन्दा अगावै बेहुलालाई तिलक चढाउने परम्परा छ । यस परम्परालाई निर्वाह गर्दै जानकी मन्दिरले अयोध्यामा तिलक पठाउने तयारी भइरहेको छ ।

सीताराम विवाह महोत्सवमा जन्तीको निम्तोका लागि तिलक लिएर जान मधेश प्रदेशका मुख्यमन्त्री सतीश कुमार सिंहले उत्सुकता देखाएका छन् । तर मुख्यमन्त्री सिंहले तिलकमा अयोध्या जाने विषयमा निर्णय नभएको बताए ।
सीताराम विवाह महोत्सवको तयारी अनुसार जानकी मन्दिरले पठाउने तिलकको नेतृत्व उत्तराधिकारी महन्त रामरोशन दास वैष्णवले गर्ने भएका छन् ।

तिलकमा उत्तराधिकारी दाससंगै विभिन्न मठमन्दिरका साधुसन्तहरु, सामाजिक र धार्मिक क्षेत्रमा सक्रिय स्थानीय वासिन्दाहरुको सहभागिता रहने बताइएको छ । तिलकका लागि अयोध्याबाट विश्व हिन्दू परिषद्का प्रतिनिधिहरुले तिलकका सहभागीहरुको स्वागत सम्मान गर्ने कार्यक्रम रहेको छ । जानकी मन्दिरबाट जन्ती ल्याउन आमन्त्रण ठाकुर(हजाम)द्वारा निम्तो पठाइएको जानकी मन्दिरका महन्त रामतपेश्वर दास वैष्णवले जनाए ।

अयोध्याबाट जन्तीको अगुवाइ राम मन्दिर ट्रष्टका सचिव सम्पत्त रायले गर्ने जनाइएको छ । जन्तीमा मनिराम छाउनीका उत्तराधिकारी महन्त कमलनयन दास, ऋषीकेषका महन्त डा.रामेश्वर दास, दिगम्बर अखाडाका महन्त, सतुवा बाबाको आश्रमका मुख्यमहन्तलगायत ५ सय बढीको सहभागिता रहने जानकी मन्दिरले जनाएको छ ।

यही मंसिर २१ गते सीताराम बिबाहमहोत्सवको मुल समारोह हुनेछ ।त्यसमा अयोध्याबाट आउने जन्तीको सहभागिता रहनेछ ।अयोध्याबाट प्रस्थान गर्ने जन्तीको मार्ग , समय र रात्री विश्रामस्थल निर्धारण गरिएको छ ।

अयोध्याबाट २६ नवम्बर अर्थात मंसिर ११ गते जन्ती प्रस्थान गर्नेछ । कारसेवकपुरम अयोध्याधामबाट विहान साढे ८ बजे प्रस्थान गर्ने जन्ती गुसाइकुञ्ज, अम्बेडकर नगर, बसखारी हुँदै रात्रि विश्राम आर्यमगढ(आजमगढ)मा हुनेछ ।

दोस्रो दिन बुधबार जन्ती आर्यमगढबाट मऊ, रसडा, फैफना कारो हुँदै रात्रि विश्राम बिहार राज्यको बक्सरमा हुनेछ ।
तेस्रो दिन बिहीबार बिहान बक्सरबाट प्रस्थान गरी ब्रम्हा स्थान चौराहा, आरा, बिहटा, दानापुर हुँदै रात्रि विश्राम पाटली पुत्र पटनामा हुनेछ ।

शुक्रबार चौथो दिन पटनाबाट हाजीपुर वैशाली हुँदै काँटीमा रात्री विश्राम हुनेछ । शुक्रबार दिवा विश्रामको स्थान टुंगो लागेको छैन्।
पाँचौ दिन शनिबार काँटीबाट प्रस्थान गर्ने जन्ती शिवहर, रुन्नी सैदपुरहुँदै सीतामढीको पुनौराधाममा रात्रि विश्राम गर्ने छ ।
छैठाँै दिन आइतबार सीतामढीबाट पुपरी, अहिल्यास्थान हुँदै बेनीपट्टीमा रात्रि विश्राम हुनेछ ।

सोमबार सातौँ दिन बेनीपट्टीबाट बासोपट्टी, विसौल, फुलहरहुँदै रात्रि विश्राम मधवापुर मटिहानीमा हुनेछ ।

आठौँ दिन मंसिर १८ गते मंगलवार जन्ती मटिहानीबाट जलेश्वर, पिपराहुँदै साँझ नगरदर्शन गरी मिथिलापुरी जनकपुरधाममा विश्राम गर्ने छ ।

नवौँ दिन जन्ती सीताराम विवाहमहोत्सवको अवसरमा मंसिर १९ गते बुधबार दिउँसो २ बजे राम मन्दिरमा आयोजना हुने तिलकोत्सवमा सहभागी हुनेछ ।

मंसिर २० गते दशौं दिन बिहीबार जन्ती विहान धनुषाधामको दर्शन र दिउँसो गंगासागरमा आयोजना हुने मटकोर समारोहमा सहभागी हुने कार्यक्रम रहेको छ ।

११ औँ दिन मंसिर २१ गते शुक्रबार सीताराम विवाह महोत्सवको मूल समारोहमा आयोजना हुने रंगभूमि मैदानमा आयोजना हुने स्वयंवर, त्यस पश्चात नगर भ्रमण र रात्रिकाल विवाह महोत्सव समारोहमा जन्ती सहभागी हुने छ ।

१२ औँ दिन बिहान जानकी मन्दिर परिसरमा सीताराम महाभिषेकम् (५१ तीर्थस्थलको जलबाट अभिषेक) गरिने र रामकलेवा(विदाई भोज)मा सहभागी भइ रात्रि सामूहिक विवाह कार्यक्रममा पनि सहभागिता जनाउने छन् ।

१३ औँ दिन जन्ती विहान जनकपुरधामबाट अयोध्याधाम फर्कने छन् । पिपरा, मनरा, मलंगवा हुँदै धनकौलमा स्वागत र रात्रि विश्राम वीरगञ्जको मौलीपुरमा हुनेछ ।

१४ औँ दिन सोमबार जन्ती विहान वीरगञ्जबाट प्रस्थान गरी मोतिहारी बाईपास, गोपालगञ्ज, कुशीनगर हुँदै गोरखपुर अयोध्याधाम पुग्ने जानकी मन्दिरले जनाएको छ ।