जनकपुरधाम ।
आगामी मंसिर १६ गते हुने उपनिर्वाचनका लागि नेकपा माओवादी केन्द्र धनुषाले उम्मेदवार छनोट गरेको छ ।
धनुषाको धनुषाधाम वडा नम्बर १ का वडाअध्यक्ष पदका लागि आकांक्षी उम्मेदवारको रुपमा सुनिल कापरको नाम धनुषाधाम नगरपालिका कमिटीले सर्वसम्मतरुपमा माथिल्लो कमिटीमा सिफारिस गरेको छ ।
धनुषाधाम नगरपालिका– १ को वडाअध्यक्ष पदका लागि धनुषाधाम नगर कमिटी अनुमोदन गरेको भन्दै नेकपा माओवादी केन्द्र धनुषाका नेता दीपक यादवले उम्मेदवार छनोट गरिएको नाम पार्टीको मधेश प्रदेश कार्यालय र केन्द्रीय कार्यालयमा सिफारिस गरेको जानकारी दिए ।
उम्मेदवारीका लागि कापरको नाम वडास्तरीय कमिटीले तय गरी पार्टीको धनुषाधाम नगरपालिका कमिटी र जिल्ला कमिटीमा सिफारिस गरे पछि पार्टी मधेश प्रदेश समिति र केन्द्रीय समितिमा समेत नाम सिफारिस गरिएको छ ।
धनुषाधाम नगरपालिका– १ का लागि माओवादीले उम्मेदवार छनोट गरे पनि अन्य दलले भने अहिलेसम्म उम्मेदवारको नाम टुंगो लगाउन सकेको छैन ।



