जनकपुरधाम ।

उपप्रधानमन्त्री एवं सहरी विकासमन्त्री प्रकाशमान सिंह कार्यकर्ता भेटघाटदेखि विभिन्न कार्यक्रममा सहभागी भएका छन् ।

नेपाली कांग्रेस मधेश प्रदेशको कार्यालयमा नेता तथा कार्यकर्तासंग भेटघाट, रेडक्रस सोसाइटीको कार्यक्रम र सरकारी कार्यक्रममा सहभागी भई उद्घाटन गरेका छन् ।

नेपाली कांग्रेसको मधेश प्रदेश समितिको पार्टी कार्यालयमा नेता तथा कार्यकर्तासंग भेटघाट गर्दै कांग्रेसका नेतासमेत रहेका मन्त्री सिंहले कांग्रेस सरकारमा रहेको अनुभूति हुने गरी काम गर्न आग्रह गरेका छन् ।

जनकपुरधाममा बुधबार मन्त्री सिंहले राजनीतिक स्थिरताका लागि अहिलेको गठबन्धन बनेको बताउँदै सरकारले नागरिकको चाहना अनुसार नै काम गर्ने बताए ।

उनले राजनीतिक स्थायित्व बिना विकास र समृद्धि सम्भव नरहेको बताए । मन्त्री सिंहले कांग्रेस–एमाले गठबन्धनले स्थिरतासंगै विकास निर्माणलाई प्राथमिकतामा राखेको समेत बताए । अहिलेको चुनौतीको सामना गर्न सक्नेगरी कांग्रेस पार्टीलाई व्यवस्थित गर्नुपर्ने उनले बताए ।

प्रदेशले राम्रो काम गरे पार्टी बलियो हुने भन्दै मन्त्री सिंहले कांग्रेस पार्टीको मधेश प्रदेश समितिलाई संगठन निर्माणमा सक्रिय गर्नका लागि निर्देशन दिए ।

त्यस्तै सहरी विकास मन्त्रालयले निर्माण गरेको मिथिला अन्तःगृह परिक्रमा विश्रामस्थल तथा सभाहल उद्घाटन कार्यक्रममा मन्त्री सिंहले सेवा प्रवाहलाई सहज बनाउन निर्देशन दिए ।

नागरिकलाई सहज रूपमा सेवा दिन कर्मचारीलाई मन्त्री सिंहले निर्देशन दिएका छन् । मन्त्री सिंहले भने, ‘जनतालाई अनावश्यक रूपमा दुःख दिने काम तपाईहरूबाट नहोस् । सहरी विकास मन्त्रालयबाट गर्नुपर्ने जति कामहरू छन्, छिटोछरितो र सहज रूपमा गर्नुहोला ।’

योजना तय गर्दा आवश्यक पर्ने पूर्वाधारहरूलाई प्राथमिकताका राखेर स्थानीय, प्रदेश र संघका जनप्रतिनिधिहरू सबैसँग सल्लाह गरेर काम अघि बढाउनका लागि पनि मन्त्री सिंहले निर्देशन दिए ।

उनी आज नै धनुषाको गणेशमान चारनाथ नगरपालिकास्थित गनेदारमा नेपाल रेडक्रस सामुदायिक आँखा उपचार केन्द्रको नवनिर्मित शल्यक्रिया भवनको उद्घाटन तथा उपचार सेवाको समेत शुभारम्भ कार्यक्रममा सरिक भएका थिए ।