आफ्नै दलसहित सत्तागठबन्धनमा पनि असन्तुष्टि

जनकपुरधाम ।

मधेश प्रदेश सरकारको कामकाजलाई लिएर असन्तुष्टि पोख्दै आएका सत्तागठबन्धनका घटक दलहरुको बैठक आज बसेर मुख्यमन्त्री सतीशकुमार सिंहको समीक्षा गरेको छ ।

मुख्यमन्त्री सिंहको अनुपस्थितिमै भएको बैठकबाट आफ्नै सत्तासीन दलसहित पार्टीका नेताले पनि कडा आलोचना गरेको छ ।
चाडवाड सकिए लगत्तै जनमत पार्टीको अगुवाईमा रहेको मधेश सरकारको कामकाज र मुख्यमन्त्री सिंहको गतिविधिहरुप्रति असन्तुष्टि जनाउँदै सत्तासीन दलका नेताहरुले आलोचना गरेका छन् ।

सिंह नेतृत्वको गठन भएको सरकारले बजेट खर्च गर्न नसकेको, प्रदेश सरकारको काम सन्तोषजनक नभएको, कामभन्दा बोलाई बढी भएको भन्दै उनको समीक्षा गरिएको नेकपा एमाले मधेश प्रदेशका संसदीय दलका नेता सरोजकुमार यादवले जनाए ।

जनमत पार्टी मधेश प्रदेश संसदीय दलका नेता महेशप्रसाद यादवले प्रदेश सरकार सुस्त भएको, बजेट खर्च गर्न नसकेको, काम प्रभावकारी नभएको, जनतामा निराश छाएको, जनगुनासो बढ्दै गएको बताए ।

नेता यादवले जनमत संसदीय दलको आह्वानमै गठबन्धनको बैठक बसेर गम्भीर छलफल गरिएको बताए ।

प्रदेश सरकारलाई प्रभावकारी र सफल बनाउनका लागि सत्ता गठबन्धन दलको नियमित बैठक बस्नुपर्ने, कामलाई प्रभावकारी ढंगले अगाडि बढाउनु पर्ने जस्ता विषयवस्तुहरुमाथि पनि सो बैठकमा छलफल भएको जनाएको छ ।

सत्तासीन दलहरुको संयुक्त बैठकबाट नै पूँजीगत खर्च आजदेखि नै अर्थ मन्त्रालयले चालु गरेको छ । जुन अर्थ मन्त्रालयले बजेट रोक्का गरेको थियो ।

सत्ता गठबन्धनको बैठकमा नेपाली काँग्रेस संसदीय दलका नेता कृष्णकुमार प्रसाद यादव, एमाले संसदीय दलका नेता सरोजकुमार यादव, जनमतका प्रदेश सांसद सञ्जय यादवलगायत सहभागी थिए ।