जनकपुरधाम ।

आसन्न मंसिर १६ गते स्थानीय तहको उपनिर्वाचनमा मधेश प्रदेशको सातवटा वडामा विभिन्न पदसहित वडाअध्यक्षका लागि ९३ जना उम्मेदवार भएको छ ।

१० जनाले उम्मेदवारी फिर्ता लिएपछि मधेश प्रदेशको सात वटा स्थानमा हुने उपनिर्वाचनमा ९३ जना उम्मेदवारहरु चुनावी मैदानमा भिड्ने छन् ।

धनुषाको धनुषाधाममा एक जनाले उम्मेदवारी फिर्ता लिएपछि २० जना उम्मेदवार भएका छन् ।

धनुषाधाम नगरपालिका– १ मा नेकपा एकीकृत समाजवादीका उम्मेदवार गोपाली साह सुडीले उम्मेदवारी फिर्ता लिई नेकपा माओवादी केन्द्रका वडाअध्यक्षका उम्मेदवार सुनिल कापरलाई समर्थन गरेको नेकपा माओवादी केन्द्र धनुषाका संयोजक दीपक यादवले जानकारी दिए । नेकपा एसका उम्मेदवार गोपाली साह सुडीले उम्मेदवारी फिर्ता लिइ माओवादीका उम्मेदवारलाई समर्थन गरेपछि २० जना उम्मेदवारहरुबीच प्रतिस्पर्धा हुनेछ ।

यसअघि धनुषाको धनुषाधाम नगरपालिका वडानम्बर १ को वडाअध्यक्षको लागि २१ जना, महोत्तरीको रामगोपालपुर नगरपालिका वडा नम्बर २ का वडाअध्यक्षको लागि २० जनाको उम्मेदवारी दिएको थियो ।

यसअघि मधेश प्रदेशमा १०३ जना उम्मेदवार थिए । जसमध्ये १० जना उम्मेदवारले आफ्नो उम्मेदवारी फिर्ता लिएपछि ९३ जनाको उम्मेदवारी कायम रहेको निर्वाचन आयोगले जनाएको छ ।