जनकपुरधाम ।

बालबालिकाको भविष्यलाई बेवास्ता गर्दै संस्थागत विद्यालयका सञ्चालकहरुले आज पनि पठनपाठन गरी बन्दलाई निरन्तरता दिएका छन् ।

जनकपुरधाम उपमहनगरपालिको निर्देशन विपरीत आज पनि संस्थागत विद्यालय बन्दलाई निरन्तरता दिएको हो ।

शनिबार दुवै पक्षबीच भएको वार्तापछि संस्थागत विद्यालय आजदेखि सञ्चालन गर्न जनकपुरधाम उपमहानगरपालिकाले निर्देशन दिएको थियो । सो निर्देशनको पालना नगरेमा कारबाही गर्ने जनकपुरधाम उपमहानगरपालिकाले चेतावनीसमेत दिएको छ । तर संस्थागत विद्यालयहरुको संगठनले उपमहानगरपालिकाले विद्यालय खोल्न दिएको निर्देशनविरुद्ध पठनपाठन ठप्प पार्दै विद्यायल नखोल्ने जनाएको छ ।

संस्थागत विद्यालय बन्द नगर्न र विद्यार्थीको पढ्न पाउने अधिकार हनन् नगर्न जनकपुरधाम उपमहानगरले संस्थागतक विद्याला सञ्चालकयहरुलाई आग्रह गरेको जनकपुरधाम उपमहानगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत धिरेन्द्र लाल कर्णले बताए ।

आन्दोलन गर्न पाउनु अधिकारको कुरा भए पनि आन्दोलनका नाममा विद्यालय नै बन्द गरेर विद्यार्थीको भविष्यमाथि खेलवाड नगर्न उनले आग्रह गरे ।

शिक्षण संस्था सम्बद्ध संगठनहरुले रजिष्ट्रेशन शुल्क र परिक्षा शुल्क मात्रै लिई गराउन नसकिने भन्दै थप अन्य शिर्षकमा शुल्क लिन पाउनु पर्ने भन्दै विद्यालयहरु बन्द गराइएको विषयमा विद्यालय सञ्चालन गराउन शिक्षण संस्था सम्बद्ध संगठनसँग पटक–पटक वार्ता गरिए पनि वार्ता निष्कर्ष निस्केपछि बन्दलाई निरन्तरता दिएको हिसान धनुषाका अध्यक्ष सञ्जीव ठाकुरले बताए ।

संस्थागत विद्यालयहरुको संगठन हिसान, एनप्याब्सन, प्याब्सन, एमप्याब्सनले जनकपुरधाम उपमहानगरपालिकासंगको वार्ता हालसम्म सफल हुन नसकेको बताउँदै आफूहरुको आन्दोलन अझै जारी रहेको जनाएको छ । उनले अहिलेको परिस्थिति अनुसार संस्थागत विद्यालय सञ्चालन गर्ने वातावरण नरहेकाले तत्काल विद्यालय बन्द नै रहने हिसान धनुषाका अध्यक्ष सञ्जिव ठाकुरले बताए ।

एनप्याब्सन जनकपुरधामका नगर अध्यक्ष दीपक ठाकुरले आज बस्ने बैठकबाट आन्दोलनको स्वरुप परिवर्तन गरी आन्दोलनलाई निरन्तरता दिने बताए ।

विगत लामो समयदेखि विद्यालय सञ्चालन नहुँदा विद्यार्थी तथा अभिभावकहरु मारमा परेका छन् ।