जनकपुरधाम । संगठन स्थापना दिवसको अवसरमा जनपक्षीय पत्रकार तथा साहित्यकार रोशन जनकपुरीलाई प्रेस सेन्टर नेपालले सम्मान गरेको छ ।
बिहीबार जनकपुरधाममा प्रेस सेन्टर नेपालको २२ औँ स्थापना दिवस मनाउँदै प्रेस सेन्टर नेपाल धनुषाले आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा संगठनका संस्थापकसमेत रहेका साहित्यकार जनकपुरीलाई दोसल्ला ओढाएर सम्मान गरिएको छ ।
सो क्रममा माक्र्सवादी चिन्तक जनकपुरीले क्रान्तिकारी पत्रकार संघको स्थापनाकालदेखि नै वर्गीय आन्दोलन र आवाजविहीनका आवाजहरुको आवाज बनेर अगाडि बढेको स्मरण गरे ।
उनले जनयुद्धकालमा मुलुकको पाँच ठाउँबाट जनगणतन्त्र रेडियो स्थापना गरी जनपक्षीय र वर्गीय आन्दोलनमा योगदान दिएको समेत बताए । उनले शहीद पत्रकार कृष्ण सेनको स्मरण गर्दै पत्रकार तटस्थभन्दा पनि आफ्नो वर्ग पक्षधरता हुनु आवश्यक रहेको टिप्पणी गरे ।
उनले राज्यको आलोचना गर्ने वाम र माक्र्सवाद अलग अलग विषयवस्तु भएको बताउँदै यसतर्फ पनि बहस चलाउनुपर्नेमा जोड दिए ।
नेपाली कम्युनिष्ट पार्टी(नेकपा) का नेता मातृकाप्रसाद यादवले आसन्न प्रतिनिधिसभा सदस्यको निर्वाचनमा जनताले आफ्नो विवेक प्रयोग गरी निर्भिकतापूर्वक मतदान गर्न आग्रह गरेका छन् ।
पूर्वमन्त्रीसमेत रहेका नेता यादवले कसैले पनि जनतालाई जालझेल र षड्यन्त्र गरी ठग्न नसक्ने भन्दै जनताले यसपटक पनि उम्मेदवारहरुको अग्नीपरीक्षाको सामना गर्न तयार हुनुपर्ने बताए ।
धनुषा– १ का उम्मेदवारसमेत रहेका नेता यादवले पटकपटक जनताले आन्दोलनकारी नेतालाई साथ दिँदै आएकाले यसपटक जनताका लागि विचार, नीति भएका, जनताको साथमा रहने र जनताको मर्म, भावना तथा जनविकासका लागि अहोरात्र खट्नेलाई अवश्य पनि मनन गर्नुपर्ने बताए । यसपटक पनि जनताको हक अधिकार, संघीयता गणतन्त्रमाथि प्रहार गर्नेहरुलाई तह लगाउनुपर्ने बताए ।
नेता रामललित मण्डलले मुलुकमा आमुल परिवर्तन भए पनि परम्परागत रुपमा निर्वाचित हुँदै आएका र विरासतमै सत्ता र विलासिता भोगेकाले जनताको वास्तविकता समस्याको पहिचान गर्न र समाधान गर्नतर्फ अग्रसर नभएको बताए । धनुषा– ३ का उम्मेदवारसमेत रहेका नेता मण्डलले विगतदेखि नै जनतासंग मत लिने तर जनताको मतको दुरुपयोग गर्दै भ्रष्टाचार गर्नेतर्फ उद्धत भएको बताए ।

त्यस्तै जेन– जी युवा संजयकुमार महतोले श्रमजीवि पत्रकारका लागि प्रेस सेन्टरले खेलेको योगदानको प्रशंसा गरे । उनले जनमुखी र वर्गीय पक्षधरता पत्रकारितालाई निरन्तरता दिनुपर्ने सुझाए ।
प्रेस सेन्टर नेपाल धनुषाका अध्यक्ष मिश्रको अध्यक्षतामा नेकपा धनुषाका नेता दीपक यादव, नेपाल पत्रकार महासंघ मधेश प्रदेश समितिका महासचिव शैलेन्द्र महतोले शुभकामना मन्तव्य राखे भने समाजवादी प्रेस संगठन धनुषाका अध्यक्ष विकास साहले उद्घोषण गरेका थिए ।
प्रेस सेन्टर नेपाल र समाजवादी प्रेस संगठनबीच छिट्टै नै एकता हुने जनाइएको छ ।
