जनकपुरधाम ।  सर्लाहीमा फेरि पनि हात्तीपाइला्े फैलिएको छ । सर्लाहीको १२ वटा स्थानीय तहमा हात्तीपाइले रोगविरुद्धको औषधि खुवाइने भएको छ । स्वास्थ्य कार्यालय सर्लाहीले जनाए अनुसार जिल्लाका १२ वटा पालिकामा हात्तीपाइले रोग सङ्क्रमण फैलिदै गएको पाइएपछि विशेष अभियानमार्फत औषधि खुवाउन लागिएको छ ।
विश्व स्वास्थ्य संगठन र इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले जनाए अनुसार जिल्लाका २० वटा पालिकालाई दुई भागमा विभाजन गरेर गत असोजमा हात्तीपाइले रोग सङ्क्रमणको परीक्षण गरेको थियो । परीक्षणका क्रम रोग फैलिने क्रम जारी रहेपछि औषधि सेवन गराउन लागेको छ ।

उक्त परीक्षण टोलीले जिल्लाको बलरा नगरपालिका, रामनगर गाउँपालिका, धन्कौल गाउँपालिका, बसवरिया गाउँपालिका, चक्रघट्ट गाउँपालिका, गोडैता नगरपालिका, विष्णु गाउँपालिका, कौडेना गाउँपालिका, मलङ्गवा नगरपालिका, ब्रह्मपरी गाउँपालिका, पर्सा गाउँपालिका र हरिपुर्वा नगरपालिकालाई एउटा समूहमा राखेर परीक्षण गरेको छ ।

उक्त टोलीले जनाए अनुसार बलरा, चक्रघट्ट र ब्रह्मपुरीबाट लिएको ३०० नमूनामध्ये २८ जनामा हात्तीपाइले सङ्क्रमण पाइएको थियो ।
जसमध्ये पनि २८ जनाको नमूनामा पाँच जना सक्रिय सङ्क्रमित फेला परेका स्वास्थ्य कार्यालय मलंगवाका हात्तीपाइले रोग नियन्त्रण शाखा संयोजक मनोज झाले जानकारी दिए ।

जिल्लाका उत्तरी क्षेत्रका बाँकी आठ पालिकामा भने हात्तीपाइले रोग फैलन क्रम रोकिएको छ ।

अभियानअन्तर्गत शुरुमा पालिकाका स्वास्थ्यकर्मी र स्वयंसेविकालाई औषधि खुवाउने तौरतरिकाबारे प्रशिक्षण दिइनेछ ।

हात्तीपाइले विरुद्धको औषधि दुई वर्षदेखि माथि उमेरका सबैलाई खुवाउने गरिएको छ ।

१२ वटा स्थानीय तहका ८० प्रतिशतले हुन आउने चार लाख ३० हजार ९४१ जनालाई औषधि खुवाउने लक्ष्य राखिएको छ। कार्यक्रमअन्तर्गत बुधबार हात्तीपाइले रोग उन्मूलनसम्बन्धी अन्तरक्रिया गरिएको थियो ।

हात्तीपाइले रोगले शरीरमा गम्भीर क्षति पु¥याउने हुनाले समयमै र नियमित औषधि सेवन गरी यसको रोकथाम गर्नुपर्ने आवश्यकता रहेको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा टेकु काठमाण्डुका डा.शशि बडेलले बताए ।

हात्तीपाइले रोगका कारण दीर्घकालीन अपांगता निम्तिन सक्ने जोखिम रहेको र यसका विषयमा आउने अनेकन भ्रमका पछाडि नलागी घरघरमा आउने स्वास्थ्य स्वयम्सेविकासँग औषधि लिएर सेवन गर्न उनले आग्रह गरे ।

बडेलले एक प्रतिशतभन्दा धेरैमा सङ्क्रमण फेला पर्नु जोखिम पूर्ण अवस्था मानिन्छ। हात्तीपाइले (फाइलेरिया) रोग क्युलेक्स जातको सङ्क्रमित पोथी लामखुट्टेले मानिसमा सार्ने बताए । यो रोग एक प्रकारको मसिनो धागो आकारको जुका जस्तै परजीवीबाट सङ्क्रमण भएपछि लाग्ने उनको भनाइ छ ।

क्युलेक्स जातको सङ्क्रमित पोथी लामखुट्टेले स्वास्थ्य मानिसलाई टोकेर यी परजीवीहरू मानव शरीरमा प्रवेश गराउने चिकित्सकहरु बताउँछन् ।