जनकपुर, जेठ ३
जनकपुरधाम उपमहानगरपालिकाको अहिलेसम्म ६ वटा वडाको मतगणना सम्पन्न भईसकेको छ भने वडा नम्बर २५ को मतगणना सम्पन्न हुने तर्खरमा रहेको छ ।
अहिलेसम्म जनकपुरधाममा ६ वटा वडा मध्ये ४ वटा वडामा नेपाली काँग्रेस निर्वाचित भएका छन् भने एक वडामा तराई मधेश लोकतान्त्रिक पार्टी र एक वटा वडा नेकपा एमालेले हात पार्न सफल भएका छन् ।
जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर–१ को वडाध्यक्षमा नेपाली कांग्रेसका दीपनारायण यादव १ हजार १४३ मतसहित निर्वाचित भएका छन् भने वडा नम्बर–२ को वडाध्यक्षमा नेपाली कांग्रेसकै शिवकुमार साह ६११ मतसहित निर्वाचित भएका छन् ।
त्यसैगरी वडा नम्बर–३ को वडाध्यक्षमा तमलोपाका दिपेन्द्र साह २७६ मत ल्याई निर्वाचित भएका छन् भने वडा नम्बर–४ को वडाध्यक्षमा नेपाली कांग्रेसका सुरेश झा पण्डित ८३३ मत प्राप्त गरी निर्वाचित भएका छन् ।
त्यस्तै वडा नम्बर–५ को वडाध्यक्षमा नेकपा एमालेका बेचन साह २९१ मत ल्याएर निर्वाचित भएका छन् । भने वडा नम्बर ६ को वडाध्यक्षमा नेपाली कांग्रेसका दिनेश साह ३३१ मत प्राप्त गरी निर्वाचित भएका छन् ।
त्यस्तै वडा नम्बर २५ को मतपरिणाम आउन बाँकी रहँदा सो वडामा पनि काँग्रेस नै निर्वाचित हुने अनौपचारिकरुपमा जनाइएको छ । काँग्रेसबाट चन्देश्वर साह निर्वाचित हुने पक्कापक्की रहेको जनाइएको छ ।
यसपछि वडा नम्बर ७ को मतगणना हुने मुख्य निर्वाचन अधिकृत ब्रजेश प्याकुरेलले जानकारी दिए ।
