काठमाडौँ, जेठ १६
बाराको निजगढमा अन्तर्राष्ट्रिय विमानस्थल बनाउन सर्वाेच्च अदालतले रोक लगाएपछि बारा र काठमाडौँमा निरन्तर विरोध प्रदर्शन हुँदै आएको छ ।
आदेशविरुद्ध आइतबार पनि काठमाडौँको माइतीघर मण्डलमा प्रदर्शन भएको हो ।
गत बिहीबार सर्वाेच्चले निजगढमा अन्तर्राष्ट्रिय विमानस्थल बनाउने सरकारको सबै निर्णयलाई बदर गरिदिएको थियो ।
त्यस्तै, आज साँझ निजगढमा स्थानीयवासीले मशाल जुलुस निकालेका छन् ।
स्वतन्त्र निजगढ युवा विद्यार्थी सरोकार मन्चको आयोजनामा युवाहरूले निजगढस्थित पूर्वपश्चिम लोकमार्गको विभिन्न स्थानबाट मशाल जुलुस प्रदर्शन गरेका हुन् ।
उनीहरूले सर्वोच्चले त्रुटिपूर्ण निर्णय गरेर विकासमा अवरोध गरेको भन्दै जिल्लामा बन्ने राष्ट्रिय महत्व बोकेको गेमचन्जर योजनामाथि अकल्पनीय ढंगले अदालतबाट आदेश हुनु दुर्भाग्यपूर्ण भएको बताएका छन् ।
अन्तर्राष्टिय विमानस्थल निर्माणको चर्चाले तराईवासीमा बढेको उत्साह र समृद्धिको सपनालाई सर्वोच्चको निर्णयले तुसारापात गरेको उनीहरूको भनाइ छ ।
मशाल जुलुसपछि भएको कोणसभामा पूर्वमन्त्री एवं एमाले नेता पुरुषोत्तम पौडेलले यो निर्णयले देश र खासगरी मधेश प्रदेशलाई नै बर्बाद पार्ने बताए ।
यसअघि आइतवार बिहान युवा तथा विद्यार्थीहरूले शहीद चोकमा धर्ना र चक्काजाम गरेका थिए ।
कार्यक्रममा सहभागीहरूले सर्वोच्च अदालतको निर्णय पुनरावलोकन नभएसम्म आन्दोलन जारी राख्ने चेतावनी दिएका छन् ।
