महोत्तरी, जेठ १७
महोत्तरीको मटिहानीमा आठ जना कार्यपालिका सदस्य चयनका लागि निर्वाचन तालिका अन्तर्गत मतदानको कार्य सम्पन्न भएको छ ।
मटिहानी नगरपालिकामा ८ जना कार्यपालिका सदस्यका लागि १६ जनाले उम्मेदवारी दिएका छन् । ‘लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) र नेपाली काँग्रेस ८ पदमा गठनबन्धन गरेका छन् भने नेकपा एमाले र जनता समाजवादी पार्टी (जसपा) ले छुट्टाछुट्टै उम्मेदवारी दिएका छन् ।
कार्यपालिका सदस्यका लागि लोसपा र काँग्रेसको गठबन्धनमा लोसपाबाट ६ जनाले उम्मेदवारी दिएका छन् भने नेपाली काँग्रेसबाट २ जनाले उम्मेदवारी दिएको मटिहानी नगरपालिकाका मेयर हरिप्रसाद मण्डलले जानकारी दिए । लोसपाले निर्वाचित तर्फ ४ र दलित अल्पसंख्यक तर्फ २ जनालाई उम्मेदवार बनाएका छन् । कांग्रेसले भने दुबै तर्फ एक–एक सिट लिएर गठबन्धन गरेको मेयर मण्डलले बताए ।
कार्यपालिका सदस्य निर्वाचनका लागि निर्वाचिततर्फ ९ र दलित अल्पसंख्यकतर्फ ७ गरी कूल १६ जना उम्मेदवार छन् । जसमा निर्वाचिततर्फ ५ जना र दलित अल्पसंख्यकतर्फ ३ जना गरी कूल ८ जना निर्वाचित हुने निर्वाचन अधिकृतको कार्यालय मटिहानीले जनाएको छ ।
कार्यपालिका सदस्यका लागि लोसपाका २२, नेकपा एमालेका १३, नेपाली कांग्रेसका ७ र जसपाका ५ गरी कूल ४७ जना मतदाता रहेको निर्वाचन अधिकृत कुल बहादुर फडेराले जानकारी दिए ।
