जनकपुरधाम, जेठ २४

विपन्न भएको कारण घुमदै जीवन बिताइरहेका परिवारका एक बालकको जनकपुरमा हत्या भएको छ ।

गत जेठ १७ गते बेपत्ता भएका सर्लाहीको कबिलासी नगरपालिका ७ गैर बाजार घर भइ हाल जनकपुरधाम उपमहानगरपालिका ८ मा टेन्ट तानेर बसिरहेका जियासरण बरहीका ६ वर्षीय छोरा राँकी बरहीको हत्या भएको हो ।

बालकको शव धनुषाको जनकपुरधाम उपमहानगरपालिका २२ र महोत्तरीको पीपरा गाउँपालिका ६ पर्ने वसविट्टी स्थित दुधमती नदीको छेउको पानी भएको झाडीमा फेला परेको हो ।

गत जेठ १७ गते एक अपरिचित व्यक्तिले बालकलाई बेपत्ता बनाएको भन्दै परिवारजनले बलवा प्रहरीमा जानकारी गराउँदै खोजविनका लागि आग्रह गरेका थिए ।

खोजविनको क्रममा बालकको शव हत्या भएको अवस्थामा एकसातापछि बालक राँकीको शव फेला परेको हो । बेपत्ता भएकै दिन उनको कसैले हत्या गरेर शव फालेको हुन सक्ने प्रहरीको आशंका छ ।

गरिबीका रेखामूनि रहेका बरहीको घरपरिवार घुमदै जीवन बितारइरहेका छन् । केहि महिनादेखि मृतक बालकका आमबुबासहित केहि छिमेक जनकपुरमा टेन्ट तानेर बस्दै आएका छन् ।

बालकको शव घटनास्थलबाट पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल जनकपुर राखिएको र घटना विषयमा थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।