जनकपुर, असार ५

सर्लाहीमा कार दुर्घटना हुँदा एक बालकको ज्यान गएको छ भने अन्य सात जना घाइते भएका छन् ।

गए रति धनकौल गाउँपालिका–५, छठीघाट पुलमा शनिबार मध्यराति नौ जना सबार बीआर ०५ एआर ५१३७ नम्वरको कार दुर्घटनामा परेको हो ।

दुर्घटनामा रौतहटको वृन्दावन नगरपालिका–४ हरैया निवासी शुभलाल यादवका छोरा ४ वर्षीय गम्भीर यादवको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

सर्लाहीका छतौनाबाट छठियारको भोज खाएर रौतहटको वृन्दावनको हरैयातर्फ फर्किदै गरेका यात्रुहरु सवार कार शनिबार राती १ बजे दुर्घटनामा परेको सर्लाही प्रहरीले जनाएको छ ।

इलाका प्रहरी कार्यालय बरहथवाका प्रहरी निरीक्षक चन्देश्वर यादवका अनुसार घाइतेमध्ये ७० वर्षीय महेन्द्र रायको अवस्था गम्भीर छ । घाइते सबैको अहिले बरहथवाका स्थानीय क्लिनिकमा उपचार भइएको छ ।

दुर्घटनापछि कारका फरार चालकको खोजी भईरहेको छ भने घटना विषयमा थप अनुसन्धान भइरहेको ईप्रका बरहथवाले जनाएको छ ।