जनकपुर, असार ५

देशभर सहित मधेश प्रदेशमा पनि असार ९ गतेदेखि ५ देखि ११ वर्षसम्मका बालबालिकालाई कोभिड विरुद्धको खोप दिइने भएको छ ।

शनिवार राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र र स्वास्थ्य पत्रकार मञ्ज नेपालद्वारा संयुक्त रुपमा आयोजित एक अन्तरक्रिया कार्यक्रममा यस्तो जानकारी गराइएको छ ।

पहिलो चरणमा देशका २७ जिल्लामा सञ्चालन हुने सो खोप कार्यक्रम अन्तर्गत मधेश प्रदेशका सप्तरी, सिरहा, धनुषा, महोत्तरी र पर्सा जिल्लालाई समेटिएको जानकारी कार्यक्रममा स्वास्थ्य निर्देशनालय मधेश प्रदेशका निर्देशक विजयकुमार झाले दिएका छन् ।

प्रदेशमा ५ देखि ११ वर्ष उमेर समूहका ८ लाख २४ हजार ७ सय १६ जनसंख्या रहेपनि पहिलो चरणमा प्रदेशका ५ जिल्लाका लक्षित ५ लाख १६ हजार २ सय ३६ बालबालिकालाई खोप दिइने जानकारी समेत उहाँले दिनु भयो ।

लक्षित समूहका बालबालिकालाई फाइजर पेडियाट्रिक नामक खोप दुई मात्रामा दिइने बताउंदै उनले पहिलो खोप असार ९ देखि १५ गतेसम्म र दोश्रो मात्रा २१ दिनपछि साउन २ गतेदेखि ८ गतेसम्म दिइने जानकारी दिए ।

झाले मधेश प्रदेशमा यसअघि खोप कार्यक्रम सफल रहेको जानकारी दिदैं अब यस प्रदेशमा कोभिड १९ बिरामी न्यून भएको दाबी गरे ।

कार्यक्रममा सहभागी मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठानका शिक्षाध्यक्ष डा. अंकुर साहले भने खोप लगाउंदा टाउको दुख्ने, सुई लगाएको ठाउँमा दुख्ने, रातो हुने, सुन्निने, आलस्य हुने, जाडो हुने, ज्वारो आउने, वाकवाकी लाग्ने, वान्ता हुने लगायतका सामान्य लक्षण देखिन सक्छ जुन सबै खोपमा लक्षण देख्निछ यसमा डराउने कुनै कुरा छैन ।

तर शरीर चिलाउने, विमिरा आउने, डाबर हुने, बढी आलस्य हुने, सुई लगाएको ठाउँमा बढी चिलाउने वा फोका जस्तो देखिएमा तुरन्त सम्बन्धित खोप केन्द्र वा चिकित्सक कहाँ सम्पर्क गर्नुपर्छ भने ।

सो कार्यक्रममा युनिसेफका सुन्दर लामाले कोभिड १९ विरुद्ध खोपको विषेशता बारे प्रकाश पार्दै सबैलाई निर्धक्क भई खोप लिन आग्रह गरेका थिए । त्यस्तै कार्यक्रममा स्वास्थ्य पत्रकार मंचका मधेश प्रदेश संयोजक हद्दिस खुद्दारले स्वागत मन्तव्य राखेका थिए ।