जनकपुरधाम ।
सूर्यदेवको पूजा गरिने महाछठ पर्वको ‘नहायखाय’को दोश्रो आज खरना हुँदैछ ।
चार दिवसीयसम्म मनाइने महाछठ पर्वको विधिवत प्रारम्भ ‘नहायखाय’बाट हुन्छ । छठ पर्वको व्रत बस्ने व्रतालुहरुले लहसुन, प्याज पहिले देखि नै छाडेका छन् । छठ पर्व मनाइने घरमा आइतबारदेखि मद्यमांसको सेवन बन्द भएको छ ।
व्रतालुहरुले ‘नहायखाय’को साँझ सम्भव भएसम्म सरसोको साग, लौका(सजमन)को तरकारी खाने गर्छन् । पवित्र तलाउ, नदी, सरोवरमा स्थानगरी निरामिष भोजन गरेर व्रतको शुभारम्भ गरेका व्रतिहरुले बुधबार दिनभरी उपवास बसेर साँझ खरना गर्ने छन् । साँझ मिठा (सख्खर) को खिर, विभिन्न फलफूल, उखु, तरकारीलगायतका सामग्रीहरु सहित भगवानलाई पूजा गरी परिवारलगायत आफन्तजनहरुले प्रसाद ग्रहण गर्छन् ।
व्रतालुहरुले खरनाको प्रसाद ग्रहण गरी सकेपछि छठी मइया(षष्ठी) को सँध्या अर्घ र सप्तमीको प्रातःकालिन अर्घका लागि निराहार व्रत बस्छन् । खरनादेखि सप्तमीसम्म व्रतालुहरुले झण्डै ३६ घण्टा उपवास बस्नुपर्ने हुन्छ । छठ पर्वमा प्रायः घरका श्रेष्ठ महिला उपवास बस्दै आएकी छन् । पुरुषहरु पनि अर्घ दिनका लागि उपवास गर्छन् । जलासयमा उभेर अस्ताउँदो सूर्यको पूजा र उदाउँदो सूर्यको पूजा पुरुष व्रतालुहरुले पनि गर्छन् । उपवास बस्ने पुरुषको संख्या भने न्यून हुन्छ । छठ पर्वमा परिवारका सबै सदस्यको भूमिका हुन्छ । सबै सदस्यले काम पाएका हुन्छन् । छठ पर्वमा अर्घ दिने पूजा सामग्री घाटसम्म पु¥याउने देखि घाट सजाउनेसम्म परिवारका सदस्यहरु जुटेका हुन्छन् । छठ पूजा गरिने पोखरी, तलाउ, नदीलगायतका जलाशय सजाउने काम अन्तिम चरणमा पुगेको छ । घाटहरुलाई बेहुलीको घर झैँ सजाइएको छ ।
जलाशयहरुको साथै वरिपरीको क्षेत्र सरसफाइ गरी सजाइएको छ । हरेक वर्ष छठ पूजाका लागि जलाशायहरु थपिने गरिन्छ । आस्थाको महापर्व छठ गर्ने परिवारको संख्या पनि हरेक वर्ष बढ् ने भएकाले जलाशयपनि थपिने गरिएको छ । छठ पर्व आस्था र श्रद्धा पूर्वक मनाइन्छ ।
जनकपुरघामको गंगासागर, अंगराजसर सागर, धनुषसागर, दशरथ तलाउ, बिहारकुण्डलगायतका सरोवर र तलाउहरु सजाइएको छ ।ग्रामिण भेगमा पनि जलाशयहरु सजाइएको छ । केही वर्ष पूर्वसम्म सहरका जलाशयहरुमा मात्र राति घाटमा पूजा सामग्री राखिने गरिन्थ्यो ।
तर अहिले ग्रामीण भेगमा पनि राति पूजा सामग्री घाटमा नै राखिने गरिन्छ । पछिल्लो समय सहरको भन्दा ग्रामीण भेगमा छठको भव्यता बढेको छ । रातभर जाग्राम र नाचगान ग्रामीण भेगमा हुने गरेको छ । छठ पर्व वीरगञ्जको घडिअर्वा पोखरी, बागमती र कमला नदीमा पनि भव्य रुपमा मनाइन्छ । छठ पर्वको तयारी अन्तिम चरणमा पुगेसंगै बजारमा भारी भीड देखिएको छ । पूजा सामग्रीहरु खरिदका लागि श्रद्धालुहरुको ठूलो भीड बजारमा लागेको छ । अबेर रातिसम्म बजारमा कारोबार भएको छ ।
लत्ताकपडाका पसल, फलफूल, मिठाइका पसलहरुमा श्रद्धालुहरुको भीड लागेको छ । बजारमा बढेको भीडको कारण ट्राफिक व्यवस्थापन समेत प्रभावित भएको छ । केरा लगायतका फलफूल र पूजा सामग्रीको रुपमा प्रयोग हुने तरकारीको पनि मूल्य बढेको छ । छठ पर्वमा अधिकांश सामग्री कृषिजन्य हुने गरेको छ । किसानहरुको आफ्नै खेतबारीमा उत्पादित वस्तुहरु छठको मुख्य प्रसाद मानिन्छ । ठेकुवा, भुसुवालगायतका मुख्य प्रसाद पनि किसानको आफ्नै खेतबारीको उत्पादन हो ।
किसानले उब्जाएको उखु, निम्बु, पान, भण्टा, मुला, केरा, नरिवललगायतका वस्तुहरु छठको प्रसाद हुन्छ । भगवान सूर्यको प्रकाश किसानका लागि वरदान भएकाले खेतबारीको पहिलो उत्पादन छठमा अर्घ दिने गरिन्छ ।
विगतमा तराई मधेशमा मात्र मनाइने छठ पर्व अब सार्वजनिक विदा पनि दिन थालेको छ ।



