जनकपुरधाम ।
आज मिथिला–मधेशमा अक्षय नवमी पर्व मनाइँदै छ । यस नवमीका दिन जनकपुरधामलगायत विभिन्न मठमन्दिरमा भोजको समेत आयोजन हुँदै आएको छ ।
धातृ नवमीलाई इच्छा नवमीसमेत भनिने सो पर्व कार्तिक शुक्ल नवमी तिथिमा मनाइन्छ ।
सो पर्वमा अमला (धातृ) रुख मुनि सरसफाई गरी विभिन्न पकवान पकाएर खाना खाने खाएमा मनोकामना पूरा हुने धार्मिक विश्वास रहेको छ । बगैँचा र वनक्षेत्रका अमलाका रुखमुनि वनभोज आयोजना गरिने धार्मिक परम्परा रहेको छ । आफ्नै आँगन वा खेतबारी तथा बगैँचामा अमलाका रुख हुनेले यसै ठाउँमा र कतिपयले वनक्षेत्रका अमलाका रुखमुनि वनभोज गरिन्छ ।
सो पर्वमा अनिवार्य रूपले अमलाका विभिन्न परिकार बनाइने मैथिल परम्परा रहेको छ ।
खासगरी घरपरिवारका सदस्यहरु एकाबिहानै वनक्षेत्रका विभिन्न उद्यान र वनभोजस्थल पुग्ने गर्छन् । सो पर्वमा दिनभरि भगवान् विष्णुको आराधना गर्दै व्रत बसेर साँझ अमलाको रुखमुनि सहभोज गरिने परम्परा रहेको छ ।
सहभोजको चलन साँझपख रहेको र परिवारका सम्पूर्ण सदस्य सहभागी हुने हुँदा यस भेगमा धेरैजसोले आफ्नै घरआँगन तथा नजिकको बगैँचामा भोजको आयोजन गर्ने परम्परा रहेको छ ।
यस पर्वको दिन सीता कुण्डलगायत विभिन्न मठमन्दिरमा धातृ रुखमुनि खाना पकाएर भोज गर्ने परम्परासमेत रहेको छ । गाउँघरमा समेत आ–आफ्नो फूलवारीमा रहेको धातृको रुख मुनि सरसफाई गरी विभिन्न पकवानसहित विशेष भोजन बनाएर भोज गरी खाना खाने गरिन्छ ।
कार्तिक शुक्ल नवमीकै दिन द्वापरयुगमा श्रीकृष्णले कुष्माण्डक दैत्यलाई संहार गरेर कंशबध गर्नुपूर्व मथुरा, वृन्दावन र गोवर्द्धन पर्वत क्षेत्र परिक्रमा गरेको धार्मिक विश्वासमा कुष्माण्ड र पर्वमा अमलाको रुख तथा फलका परिकारको महत्व दर्शाउन धातृनवमी भनिएको सीता कुण्डका महन्त नरेश दासले बताए ।



