गोलबजार ।

नेकपा माओवादी केन्द्रका उपमहासचिव मातृकाप्रसाद यादवले समावेशीता र संघीयता समाप्त गर्नकै लागि वर्तमान गठबन्धन सरकार लागिपरेको बताएका छन् ।

गोलबजारमा आज आयोजित खबरदारी सभामा बोल्दै पूर्वमन्त्रीसमेत रहेका मधेशी राष्ट्रिय मुक्ति मोर्चा नेपालका इन्चार्ज यादवले समावेशिता र संघीयता समाप्त गर्ने वर्तमान गठबन्धन विरुद्ध संघर्षको तयारी थाल्नका लागि अपिल गरे ।

उनले हरेक पालिका र त्यसको वडाहरुमा खबरदारी कार्यक्रम गरी संघर्षको निमित्त संगठित हुनु आजको आवश्यकता रहेको बताए ।

संयुक्त मेधश संघर्ष समितिको आयोजनामा भएको खबरदारी सभामा बोल्दै तराई–मधेश लोकतान्त्रिक पार्टीका अध्यक्ष वृषेशचन्द्र लालले नेकपा एमाले र नेपाली काँग्रेसको वर्तमान गठबन्धन सरकराले राज्यको संघीय बहुदलीय लोकतान्त्रिक संरचनालाई दुई दलीय नयाँ संस्करणको एकात्मकतामा उल्टाउन खोजेको आरोप लगाए । पूर्वराष्ट्रियसभा सदस्यसमेत रहेका अध्यक्ष लालले कांग्रेस–एमालेको सरकारले संघर्षबाट प्राप्त भएको उपलब्धविरुद्ध दुई दलीय व्यवस्थाको वकालत गरी एकात्मक व्यवस्थाको शासन अपनाउन खोजेको बताए ।

उनले भने, “वर्तमान संविधानमा संशोधनको प्रतिगमनकारी खेस्रा बन्द कोठामा तयार भइरहेको, राजतन्त्र जस्तै संविधानको संशोधन केही व्यक्तिहरुको स्वार्थमा आयोग वा कुनै कार्यदलबाट ल्याउन खोजिएको छ ।”

पूर्वमन्त्री महेन्द्र पासमानले काँग्रेस–एमाले आफ्नो वर्चस्व कायम गर्न खोजेको भन्दै संघीयता र समावेशीताको निमित्त हामी एक पटक फेरि कडा संघर्षको निमित्त तयार रहेको बताए ।

त्यस्तै तराई–मधेश लोकतान्त्रिक पार्टीको वरिष्ठ नेता डा. विजयकुमार सिंहले संविधान संशोधनको माग जनताको एजेण्डा रहेको बताए । उनले जनताले अग्रगामी संविधान संशोधनको पक्षमा रहेकाले यसविरुद्ध कुनै पनि षडयन्त्र गरे आन्दोलन गर्ने चेतावनी दिए । डा. सिंहले थ्रेसहोल्ड समाप्त गर्नु पर्ने माग समेत गरे ।

हेमन्त कुमार यादवको अध्यक्षतामा सम्पन्न भएको खबरदारी सभामा संविधान सभा सदस्य र माओवादी नेता जगतप्रसाद यादवले संविधानको संशोधन जनताको आकांक्षा अनुरुप हुनु पर्ने कसैको स्वार्थमा लहडमा गर्न खोजिए अस्वीकार्य हुने बताए ।

त्यस्तै तराई–मधेश लोकतान्त्रिक पार्टीको वरिष्ठ नेता डा. विजयकुमार सिंहले संविधान संशोधनको माग जनताको एजेण्डा रहेको बताए । उनले जनताले अग्रगामी संविधान संशोधनको पक्षमा रहेकाले यसविरुद्ध कुनै पनि षडयन्त्र गरे आन्दोलन गर्ने चेतावनी दिए । डा. सिंहले थ्रेसहोल्ड समाप्त गर्नु पर्ने माग समेत गरे ।

नेकपा एकीकृत समाजवादीका नेता तथा संविधानसभा सदस्य शीतल झाले पूर्ण समानुपातिक समावेशी निर्वाचन पद्धति नै अहिले निर्वाचनमा देखिएका विकृतिहरुको एक मात्र इलाज रहेको बताए ।

सो खबरदारी सभामा पूर्वराज्यमन्त्री बोधमाया यादव, कुमार लामालगायतकाले आ–आफ्नो मन्तव्य राखेका थिए ।