जनकपुरधाम ।
मधेश प्रदेशका मुख्यमन्त्री सतीशकुमार सिंहले कुटनीतिक मर्यादा विपरीत भारत भ्रमणमा गएका छन् ।
मुख्यमन्त्री सिंहले संघीय सरकारबाट स्वीकृति नै नलिई छिमेकी मुलुक भारतको अयोध्यातर्फ प्रस्थान गरेका छन् ।
उनले मधेश प्रदेशको सरकारलाई समेत ढाटेका छन् । कार्यबाहक मुख्यमन्त्रीको जिम्मेवारी सरोजकुमार यादवलाई दिँदै प्रदेश बाहिर गइरहेको भनि एक पत्र लेखेर भारतको अयोध्यातर्फ प्रस्थान गरेका हुन् ।
प्रदेश तथा स्थानीय तहको परराष्ट्र तथा कूटनीतिक मामिलासम्बन्धी निर्देशिका २०७५ मा देशबाहिर जाँदा प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमार्फत परराष्ट्र मन्त्रालयको सहमति लिनुपर्ने व्यवस्था छ । तर मुख्यमन्त्री सिंह सहमति नै नलिई गुपचुप रुपमा भारत गएका छन् ।
यही मंसिर २१ गते जनकपुरधाममा मनाइने विवाहपञ्चमी महोत्सवमा जन्तीलाई निमन्त्रणा तथा तिलक लिएर विश्व हिन्दू परिषद्को अगुवाईमा ५०० पाहुर लिएर जनकपुरधामका स्थानीय आइतबार अयोध्या प्रस्थान गरेको छ ।
विश्व हिन्दू परिषद्को अगुवाईमा अयोध्या हिडेको टोलीमा मुख्यमन्त्री सिंह पनि सहभागी छन् । भारत सरकार र अयोध्यास्थित राम मन्दिरको निम्तो बिना नै मुख्यमन्त्री सिंहले आफ्नो स्वार्थसिद्धका लागि नेपालको मान प्रतिष्ठाको समेत ख्याल नगर्नु दुःखद रहेको टिप्पणी हुन थालेको छ ।
विश्व हिन्दू परिषद् धनुषाका अध्यक्ष सन्तोष साहको अगुवाईमा विवाहपूर्व बेहुलाको घरमा तिलक लिएर जानुपर्ने विधि अनुसार पहिलोपटक अयोध्यामा तिलक र निमन्त्रणापत्रसहित पठाइएको छ । मुख्यमन्त्री सिंहले उत्तर प्रदेश सरकारबाट समेत निम्तो पाउन असफल प्रयास गरेका थिए ।
परराष्ट्र तथा कूटनीतिक मामिलासम्बन्धी निर्देशिका, २०७५ को बुँदा ६ मा प्रदेश र स्थानीय तहका कर्मचारी र पदाधिकारीको विदेश भ्रमणसम्बन्धी व्यवस्था रहेको छ ।
प्रदेशको कर्मचारी र पदाधिकारीहरूको विदेश भ्रमणसम्बन्धी व्यवस्था गरेको छ । ‘प्रदेशका कर्मचारी र पदाधिकारीहरूको हकमा विदेश भ्रमण गर्दा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमार्फत् परराष्ट्र मन्त्रालयको सहमति लिनुपर्ने हुन्छ ।’
यसमा राजनीतिक भ्रमण, कूटनीतिक भ्रमण, द्विपक्षीय सम्बन्धजस्ता विषयमा हुने विदेश भ्रमणबाहेक छात्रवृत्ति, अध्ययन भ्रमण, अवलोकन भ्रमणजस्ता विकास साझेदारको आयोजनामा सञ्चालन हुने कार्यक्रमहरू अर्थ मन्त्रालयको समेत सहमति लिनुपर्ने हुन्छ ।
तर मुख्यमन्त्री सिंह भने परराष्ट्र मन्त्रालयको सहमति बेगर भारतको अयोध्या भ्रमणमा गएका छन् ।
मुख्यमन्त्री सिंहको भारतको अयोध्या भ्रमणलाई मधेश प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को बैठकले स्वीकृत गरिए पनि संघीय सरकारले अनुमति दिएको छैन ।

मधेश प्रदेश प्रमुखको कार्यालयले पनि मुख्यमन्त्री सिंहको भारत भ्रमणबारे अनभिज्ञता प्रकट गरेको छ । मुख्यमन्त्री सिंह भारत भ्रमणमा गएको विषयमा आफूहरूलाई जानकारी नभएको प्रदेश प्रमुखको सचिवालयले जनाएको छ ।
प्रदेश प्रमुखका प्रेस सल्लाहकार टिका उप्रेतीले औपचारिक रुपमा प्रदेश प्रमुखको सचिवालयलाई मुख्यमन्त्री सिंहको भारत भ्रमणबारे जानकारी नभएको बताए ।
मुख्यमन्त्री सिंह अयोध्या प्रस्थान गरेपछि प्रदेशका भौतिक पूर्वाधारमन्त्री यादवलाई कार्यवाहक मुख्यमन्त्रीको जिम्मेवारी दिएका छन् । आइतबार कार्यवाहकको जिम्मेवारी तोक्दै भौतिकमन्त्री यादवलाई दिइएको पत्रमा उनले आफू काम विशेषले प्रदेशबाहिर जानुपरेको जनाएका छन् ।
देशबाहिर जाँदा कार्यवाहक तोक्ने परम्परा छ । देश बाहिर गएका मुख्यमन्त्री सिंहले भने कार्यवाहक तोकिएको पत्रमा आफू काम विशेषले प्रदेशबाहिर जानुपर्ने उल्लेख गरेका छन् ।
परराष्ट्र मन्त्रालयबाट अनुमति नै नलिई छिमेकी मुलुक भारत भ्रमणमा जाने मुख्यमन्त्री सिंहको कदम कूटनीतिक मर्यादाविपरीत रहेको कूटनीतिक मामिलाका जानकारहरूको बताउँछन् ।
जनमत पार्टीका केन्द्रीय प्रवक्ता शरदसिंह यादवले मुख्यमन्त्री सिंह अयोध्या गएको बारे जानकारी भए पनि कसरी र किन गएको भन्ने सवालमा पछि सबैले थाहा पाउने बताए ।
तत्कालीन मुख्यमन्त्री लालबाबु राउतलाई परराष्ट्र मन्त्रालयले अमेरिका भ्रमणका लागि स्वीकृति नदिँदा उनी जान पाएनन् । मधेशी एसोसिएसन इन अमेरिकाको प्रथम अधिवेशनमा प्रमुख अतिथिका रूपमा त्यसतर्फ जान राउतले २०७५ जेठमा परराष्ट्र मन्त्रालयसँग अनुमति मागेका थिए ।
संघीय सरकारले अनुमति नदिएपछि भिडियो कन्फ्रेन्समार्फत कार्यक्रमलाई सम्बोधन गरेका थिए ।
