सिरहा, असार ३०
घरबाट तरकारी किन्न गएका युवक अब कहिल्यै घर फर्केर नआउने भएका छन् ।
बुधबार घरबाट निस्केका सिरहको मिर्चैया नगरपालिकाका २९ वर्षीय जीवन साह बुधबार मृत अवस्थामा फेला परेका छन् ।
मिर्चैया नगरपालिका वडा नम्बर ९ स्थित घुर्मी चोकदेखि एक सय मिटर उत्तर सडक किनारमा उनको शव फेला परेको सिरहा प्रहरीले जनाएको छ ।
बुधबार साँझ घरबाट प्र२–०१–००३ प ३२४८ नम्बरको मोटरसाइकलमा उनी तरकारी किन्न मिर्चैया बजार गएका थिए । तर बिहीबार साहको शव फेला परेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । उनी चढेको मोटरसाइकल सडकको अर्को किनारामा ढलेको अवस्थामा भेटिएको छ ।
प्रहरीले मोटरसाइकल अनियन्त्रित भएर लडेको हुनसक्ने अनुमान रहेको जनाएको छ । तर घटना शंकास्पद रहेकाले अनुशन्धान सुरु गरेको इलाका प्रहरी कार्यालय मिर्चैयाका प्रहरी नायब उपरीक्षक हरिबहादुर ओलीले जानकारी दिए ।
घटनाको प्रकृति अनुसार मोटरसाइकल अनियन्त्रित भएर दुर्घटना भएको जस्तो देखिए पनि आशंका गर्ने ठाउँ रहेको उनको भनाई छ ।
घरबाट हिजै निस्केका भए पनि गाउँबाट जन्ती जाने भएकाले जन्ती गएको हुन सक्ने भन्दै घरपरिवारजनले खोजी नगरेको बताएका छन् । उनको मोटरसाइकलमा तरकारी सहितको झोला समेत भेटिएको सिरहा प्रहरीले जनाएको छ ।



