जनकपुर, असार ३१
अवैध भन्सार चोरी निकासी गरी नेपाल भित्र्याएका करोडौँ मूल्य बराबरको उपकरण सहित तीन जना भारतीयलाई धनुषा प्रहरीले पक्राउ गरेका छन् ।
पक्राउ पर्नेमा भारत विहारको मधुवनी थाना जयनगर–२ बस्ने बर्ष ५२ को विपिन कुमार सिंह, भारत विहारको छपरा दाउदपुर थाना बस्ने बर्ष ६० शंकर सिंह र भारत विहारको पटना हरनोट सिर्सिया थाना बस्ने बर्ष २३ को सुरज सिंहलाई अबैध रुपमा भन्सार छली चोरी पैठारी गरी ल्याएको आरोपमा पक्राउ गरेका हुन् ।

जनकपुरधाम उप–महानगरपालिका वडा नम्बर ९ स्थित बिनय कुमार झाको घरमा कोठा भाडा लिई बस्दै आएका बिपीन कुमार सिंहलगायतकाले मेडिकलसंग सम्बन्धित विभिन्न उपकरणहरु अबैध रुपमा भन्सार छली चोरी पैठारी गरी ल्याई बस्दै गरेको घर कोठामा लुकाई छिपाई राखेको भन्ने गोप्य सूचानाको आधारमा छापा मार्दा उपकरणसहित ति तीनै जनालाई पक्राउ गरिएको धनुषाका प्रहरी नायब उपरीक्षक प्रदीप बहादुर क्षेत्रीले जानकारी दिए ।

यस कार्यालयबाट खटी गएको प्रहरी अधिकृत समेतको टोलीले निज बिनय कुमार झाको फ्लाईटमा रहेको कोठाहरु तथा कोठा अगाडी रहेको बि आर ०१ पिके ६६६६ नम्बरको स्कर्पियो गाडीसहितकालाई खानतलासी गर्दा अबैधरुपमा भन्सार छली चोरी पैठारी गरी लुकाई छिपाई राखिएका मेडिकल सम्बन्धि उपकरणहरु बरामद भएको र सो स्कर्पियो गाडी र मेडिकल सम्बन्धि विभिन्न उपकरणहरु अनुमानित एक करोड रुपैयाँ बराबरको गाडी तथा सरसामग्रीहरु नियन्त्रणमा लिई आवश्यक कारवाहीका लागि भन्सार कार्यालय धनुषामा पठाईएको उनले बताए ।
